सर्लाहीमा बाटो विस्तारका क्रममा झडप: प्रहरी निरीक्षकसहित १० घाइते, ७ जना नियन्त्रणमा

Categories:

-

सर्लाही, ७ असार  । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच भएको झडपमा प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन्। विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित सुरक्षाकर्मी र स्थानीय गरी १० जना झडपमा घाइते भएका हुन्। घाइतेहरूको उपचार बरहथवा र मलंगवा स्थित स्वास्थ्य संस्थाहरूमा भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले झडपमा संलग्न भएको आरोपमा बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित सात जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलमा थप बल परिचालन गर्दै स्थानीय अवस्था नियन्त्रणमा लिएको छ।

स्थानीयवासीका अनुसार सडक विस्तारको क्रममा निजी जग्गा मिचिएको भन्दै केही दिनदेखि विवाद चर्कँदै आएको थियो। पटक–पटकको छलफलबाट समस्या समाधान नभएपछि शनिबार बिहान स्थिति झडपमा परिणत भएको हो। प्रहरी टोली अवस्था नियन्त्रण गर्न घटनास्थल पुगेको थियो भने केही व्यक्तिहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेर भीड तितरबितर गरेको थियो।

झडपका क्रममा केही सरकारी कागजात र उपकरणमा समेत क्षति पुगेको बताइएको छ। यद्यपि यथार्थ विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सडक विस्तार कार्य शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्दै, कानुनी प्रक्रिया अनुसार समस्या समाधान गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य