वर्षा सुरू भएपछि सिंह किन दौडिए बागमतीतिर?

Categories:

-

काठमाडौं,७ असार lउपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरु भएसँगै बागमती नदीबाट सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले बागमती नदीले वर्षाका बेला पार्न सक्ने असरलाई ध्यानमा राखी आवश्यक तयारी र व्यवस्थापन तत्काल अघि बढाउन मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री सिंहसँगै सहरी विकास मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा बागमती सभ्यता एकीकृत समितिको टोलीले सुन्दरीजल, गोकर्ण र माकलबारी क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। निरीक्षणको क्रममा ढल व्यवस्थापन, बागमती सौन्दर्यकरण र नदी संरक्षणसम्बन्धी कार्यको प्रगति र प्रभावकारिता परीक्षण गरिएको थियो।

सिंहले निरीक्षणपछि सम्बद्ध निकायहरूलाई बागमती नदीलाई स्वच्छ बनाउने कार्यलाई प्राथमिकतामा राख्न र ढल व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिए। उनले विशेष गरी उपत्यकाभित्रका नदी प्रणालीहरूको संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताए।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले नगरपालिकाले बागमती सफा बनाउन गरिरहेको कामबारे टोलीलाई जानकारी गराएका थिए।

यसअघि बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले बूढानीलकण्ठ क्षेत्र हुँदै बग्ने विष्णुमती नदी क्षेत्रको निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य