-नारायणबाबु तिम्सिना
कतै मान्छेले पद जुरुक्क बोकेको छ कतै पदले मान्छे जुरुक्क बोकेको छ।
कतै मान्छेमा पद निर्लज्ज टाँसिएको छ कतै पदमा मान्छे निर्लज्ज टाँसिएको छ।।
कतै मान्छेले पदको कद उचालेको छ कतै पदले मान्छेको कद उचालेको छ।
कतै मान्छेले पद जबर्जस्ति अँठ्याएको छ कतै पदले मान्छे जबर्जस्ति अँठ्याएको छ।।
कतै मान्छे पद प्राप्त गरेर हाँसिरहेको छ कतै पद मान्छे प्राप्त गरेर हाँसिरहेको छ।
कतै मान्छे पद पाएर लजाइरहेको छ कतै पद मान्छे पाएर लजाइरहेको छ।।
कतै मान्छेलाई पदको अहम् घमण्ड छ कतै पदलाई मान्छेको अहम् घमण्ड छ।
कतै मान्छेले पदको प्रतिष्ठा बढाएको छ कतै पदले मान्छेको प्रतिष्ठा बढाएको छ।।
कतै मान्छेले पद धारण गरेको छ कतै पदले मान्छे धारण गरेको छ।
कतै मान्छेले खास पद पाएको छ कतै पदले खास मान्छे पाएको छ।।
प्रतिक्रिया दिनुहोस्


