बैरागी जेठा /काठमाडौं,६ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले ओली नेतृत्वको सरकारले ल्याएको बजेट किसानमाथि अन्यायपूर्ण भएको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले किसानप्रति सरकारको दृष्टिकोण नै विभेदपूर्ण रहेको बताएका हुन् ।
४८ औं जुगेडी किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बस्नेतले सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएमा आन्दोलन चर्किने चेतावनीसमेत दिए । “यदि ३० दिनभित्र सहमति कार्यान्वयन भएन भने सडक संघर्षको बाटो खुला हुनेछ,” बस्नेतले भने, “तर हामी आशावादी छौं, चाँडै उच्चस्तरीय छानबिन समिति गठन हुनेछ ।” उनले पार्टी जिम्मेवार प्रतिपक्षको हैसियतमा रहेको उल्लेख गर्दै सहमति कार्यान्वयनका लागि दबाब सिर्जना भइरहेको बताए ।
कार्यक्रममा बस्नेतले किसान आन्दोलनको ऐतिहासिक भूमिका स्मरण गर्दै जनयुद्धले सामन्तवादविरुद्ध निर्णायक मोड दिएको टिप्पणी गरे । “२०५२ सालअघिका किसान आन्दोलनहरू सामन्तवादप्रति केन्द्रित हुन नसक्दा असफल भए,” उनले भने, “तर जनयुद्धले त्यसलाई समेट्दै निर्णायक बनायो ।” उनले लोकतान्त्रिक आन्दोलनले सामन्तवादसँग विच्छेद गर्न नसकेको भन्दै २०४६ को आन्दोलनको मर्म विपरीत राजतन्त्रसँग सम्झौता गरिएकामा आलोचना गरे ।
कार्यक्रममा किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपाध्यक्ष श्रीगोविन्द महर्जनले सत्तामा पुगेपछि संघर्ष बिर्सिने प्रवृत्तिको आलोचना गरे । पूर्वमन्त्री सुनिल मानन्धरले असार ५ लाई किसानको संघर्ष दिवसका रूपमा मनाउँदै आएको बताउँदै माओवादीले किसान आन्दोलनको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले जुगेडी किसान आन्दोलनको ऐतिहासिकता स्मरण गर्दै सहिदहरूको योगदान भुल्न नहुने बताए ।
अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान संघर्ष कहिल्यै नबिर्सन आग्रह गरे भने महासचिव नहेन्द्र खड्काले किसान सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरे ।



