आशिष गुरागाई /काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेबीच भएको एक्लाएक्लै भेटवार्ताले राजधानीको राजनीतिक बजार तताएको छ । बुधबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेका वाग्ले र देउवाबीच झण्डै ४५ मिनेट लामो वान–टु–वान वार्ता भएको हो । कांग्रेस परित्याग गरेपछि वाग्ले र देउवाबीच भएको यो पहिलो भेट हो, जुनलाई राजनीतिक वृत्तले निकै अर्थपूर्ण मानेको छ ।
वाग्ले २०७८ सालमा कांग्रेस प्रवेश गरेका थिए । त्यसबेला प्रधानमन्त्री रहेका देउवाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । तर, पार्टीभित्र गुटको राजनीति, अवसरको असमानता र सैद्धान्तिक दृष्टिकोणमा असहमत भएपछि उनले पार्टी छोडेर रास्वपाबाट चुनाव लडे । गत निर्वाचनमा तनहुँ १ बाट विजयी वाग्ले पछिल्लो समय सरकारप्रति कडा आलोचक बनेका छन् । गृहमन्त्री रमेश लेखकविरुद्ध संसदमा खुलेर विरोध गरिरहेका वाग्लेले सोही समय देउवासँग गोप्य भेट गर्नु निकै संकेतपूर्ण मानिएको छ ।
विश्वस्त स्रोतका अनुसार यो भेटको समन्वय कांग्रेस नेता डा. नारायण खड्काले गरेका थिए । पछिल्ला केही हप्तायता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि रास्वपासँग सम्बन्ध सुधारको प्रयास गरिरहेको चर्चा चलिरहेको छ । यस्तो बेलामा देउवा र वाग्लेबीचको भेटले कांग्रेस–रास्वपा सम्बन्ध नयाँ मोडमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “यो भेट केवल पुरानो चिनजानको सत्कार होइन, यो सम्भावित गठबन्धनको संकेत पनि हुन सक्छ ।” आगामी सत्ता समीकरण, नयाँ ध्रुवीकरण र रणनीतिक सहकार्यको तयारीका रूपमा यो भेटलाई हेर्नेहरू पनि छन् । वाग्ले स्वयं रास्वपाभित्र पनि फरक धारका प्रतिनिधि मानिन्छन्, जसले उनी पार्टीको आधिकारिक लाइनभन्दा अलग दृष्टिकोण राख्न सक्ने क्षमता राख्छन् ।
भेटबारे देउवा वा वाग्ले दुबै पक्षबाट औपचारिक जानकारी बाहिरिएको छैन । तर, यो भेटले निकट भविष्यमा कांग्रेस र रास्वपाबीचको सम्बन्धमा नयाँ चाल आउने अनुमान गर्न थालिएको छ ।

