काठमाडौ ५ असार । साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक’ (कबा) ले यस वर्ष पनि आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसरमा विभिन्न साहित्यकार, पत्रकार तथा सिर्जनशील व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। कबा साहित्यकार उपचार कोषका संस्थापक सदस्य मदनराज थापा, चन्द्रा न्यौपाने, विष्णु पन्त र मुरलिप्रसाद ढकाललाई कबा विशिष्ट सम्मान अर्पण गरिने भएको हो।
त्यस्तै, पत्रिकाका आजीवन सदस्य शम्भु चालिसे र रन्जु खनाललाई कबा सम्मान प्रदान गरिनेछ। यसै क्रममा साहित्यिक पत्रकारिता क्षेत्रका योगदानकर्ता उद्धव अविचललाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिने तय भएको छ।
यस वर्षको रचना पुरस्कार अन्तर्गत राजेशमान केसीले नालाङ्ग कबा रचना पुरस्कार २०८१ (पुरुष), प्रीति कौरले पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०८१ (महिला), रामकुमार श्रेष्ठ ‘फुच्चे’ले गङ्गा लिगल कबा रचना पुरस्कार २०८१ (मोफसल), पुजा शाहीले हेमगङ्गा रचना पुरस्कार २०८१ (बाल), र सुरेशचन्द्र घिमिरेले भमरकोटे कबा सुसेली पुरस्कार २०८१ (सुसेली विधा) प्राप्त गर्नेछन्।
उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि गठन गरिएको प्रतिभा चयन समितिमा वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक छन् भने स्तम्भ कवि त्रिलोचन आचार्य र कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेका छन्।
प्रतिभा चयन समितिको सिफारिसका आधारमा सम्मान र पुरस्कारको छनोट गरिएको जानकारी कबाका सल्लाहकार तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीले दिए ।
कबा सहसम्पादक प्रशुराम अधिकारीका अनुसार सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम साउन ५ गते पत्रिकाको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने छ।

