काठमाडौ ५ असार । एमालेको विधान अधिवेशन भदौ २० देखि २२ सम्म आयोजना हुने निर्णय भएको छ। अहिले सम्म नेतृत्वको मुड तलमाथि नपरेमा अधिवेशन हुने पक्का छ। नेतृत्वको अनुकूल निर्णय नहुने भएमा विधान अधिवेशन नहुनेमा पक्का छ।
यसअघिका विधान अधिवेशन नेतृत्वका लागि जति सजिला भए तर यस पटक त्यस्तो सजिलो देखिएको छैन। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीको दुई कित्तामा यस पटक विधान महाधिवेशन हुने निश्चित जस्तै छ। एमालेमा लामो समय देखि गुम्सेको असन्तुष्टि यस पटक विधान अधिवेशनमा गएर प्रकट हुने सम्भावना बलियो देखिएका छ। यस अघि प्रधानमन्त्री ओलीको चाहना अनुसार चल्ने विधान अधिवेशन हल यस पटक त्यसरी चल्ने सम्भावना समेत कम हुँदै गएको छ। किन भने यस अघि पार्टी भित्र प्रयोग हुन नपाएको आन्तरिक लोकतन्त्रको एक एक हिसाब विधान अधिवेशनमा देखा पर्ने सम्भावना बढेर गएको छ।
एमालेले अघिल्लो विधान सम्मेलनले नेतृत्वको लागि ७० वर्षे उमेर हद लगाएको थियो । तर, २०८० जेठमा बसेको सचिवालय बैठकले कार्यकारिणी कमिटीमा लगाइएको उमेर हद्दलाई निलम्बन गरिदियो । त्यसअघि एमालेले नेतृत्वको अनुकूलतामा उमेर हद लगाउने फुकाउने अभ्यास गर्दै आएको थियो । यो निलम्बनको सिधा अर्थ हो अध्यक्ष ओली निरन्तर अध्यक्ष बनी रहने ।
यद्यपि, फेरि विधान महाधिवेशन आउन केही महिना मात्रै बाँकी हुँदा ७० वर्षे उमेर हद्दको विषयले एमालेमा प्रवेश पाएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू ७० वर्षे उमेर हद्दको पक्षमा उभिने बताएपछि यो विषय पेचिलो हुने देखिएको छ ।
कतिपयले उमेर हद्दको विषय अध्यक्ष केपी ओलीतिर इङ्गित पनि गरेका छन् । लगत्तै ओलीले ७० वर्षे उमेर हद फेल खाइसकेको टिप्पणी गरिदिए ।
‘यतिखेर कतिले ७० वर्ष उमेरको कुरा गरेका छन् । तर, यो ७० वर्ष उमेर फेल खाइसक्यो । अहिले म नै अहिले ७४ चल्दै छु । ७० वर्षमा रिटायर हुने भन्ने कुरा फेल खाएन र ?,’ ओलीले केही दिनअघि अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै कीर्तिपुरमा भनेका थिए, ‘अहिले म ७४ वर्षमा हिँडिरहेको छु । ७० वर्षमा रिटायर हुन उमेर चार वर्ष घटाउन भएन क्यार ! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैनन् भन्ने मुख्य कुरा हुन् ।’
ओलीले खुलेरै बोलेपछि एमालेभित्र उमेर हद्दको विषय यतिखेर चर्चामा छ । यही चर्चाको बिच विधान महाधिवेशनबाट ७० वर्षबारे एमालेले कस्तो नीति लिन्छ भन्नेमा पार्टीभित्रै धेरै चासोका साथ हेरिएको छ । ७० वर्षे उमेर हद लागू भए अध्यक्षमा ओली अब फेरि उठ्न पाउने छैनन् । यस्तोमा नेतृत्व हस्तान्तरणको विषय प्रबल भएर आउनेछ । ओलीले सार्वजनिक रूपमा स्वास्थ्यले साथ दिएसम्म राजनीतिमै सक्रिय हुने पटक पटक बताउँदै आएका छन् । यसैले, उनी उमेर हद्दको विषयलाई सक्रिय गराउने पक्षमा देखिएका छैनन् ।
अहिले एमालेमा पार्टी भित्र बढेको असन्तुष्टिका कारण विद्या भण्डारीलाई नेतृत्वमा ल्याउनु पर्ने दबाब बढ्दै गएको देखिएको छ। उनी उमेरले समेत भरखर ६४ वर्ष पुगिन । त्यसैले ७० वर्षको उमेर हद लाग्दा ओलीको बिदाइ र भण्डारीको स्वागत हुन सक्छ। एमालेमा ।
एमाले भित्रको असन्तुष्टिको गुम्साहटको परिणाम हो भण्डारीलाई नेतृत्वमा ल्याउने नेता तथा कार्यकर्ताको प्रयास । यद्यपी बाहिर बाट वाम एकताको नाम दिएर नेकपा एस र माओवादी पनि विद्याको नेतृत्वमा गोलबद्ध हुने सुन्दर सपना धेरैले देखेका छन् । तर भण्डारीका लागि यो कदम भने चानचुन चुनौतीपूर्ण छैन। ओलीले आफ्नो ट्याकमा राख्न नसकेका माओवादीका अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधव नेपाललाई भण्डारीले काबुमा राख्ने कुरा त्यति सहज देखिँदैन। यद्यपी एमालेमा भण्डारीलाई नेतृत्वमा फर्काउने सपना भने बढ्दै गएको छ। भण्डारी पक्षका एक नेता भन्छन् – लामो उकालो हिँडेर सास फेर्न गाह्रो भएको जस्तो भएको छ, भण्डारीलाई नेतृत्वमा ल्याएर पार्टी भित्र लामो सास फेरौँ भनेको मात्र हो ।


