इजरायल र इरान जाने योजना बनाइरहनुभएको छ? सरकारले भन्यो – अहिले नगइहाले राम्रो!

Categories:

-

काठमाडौं, असार ४ –  सरकारले इजरायल र इरानबीच जारी द्वन्द्वका कारण ती देशमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र नेपालबाट ती मुलुकतर्फ यात्रा गर्न नजान आग्रह गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको ‘यात्रा जानकारी (ट्राभल एडभाइजरी)’ मार्फत मन्त्रालयले हालको जटिल परिस्थिति सामान्य नहुञ्जेल ती देशहरूमा वैदेशिक रोजगारी, भ्रमण वा अन्य प्रयोजनका लागि यात्रा नगर्न सबै नेपालीलाई आग्रह गरेको हो।

मन्त्रालयले इजरायल र इरानमा जान तयारीमा रहेका नेपाली नागरिकलाई त्यस्तो योजना तत्काल स्थगित गर्न भनेको छ। साथै, ती दुई देशबाहेक मध्यपूर्वका अन्य देशहरूमा जान लागेका नागरिकलाई समेत हालको अस्थिर अवस्थालाई ध्यानमा राख्दै यात्रा नगर्न वा स्थगित गर्न सुझाव दिएको छ। इजरायल र इरानबीच पछिल्ला दिनहरूमा बढ्दो तनाव र सम्भावित द्वन्द्वको जोखिमका कारण नेपाल सरकारले यस्तो सन्देश जारी गरेको हो।

परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न, त्यहाँको स्थानीय प्रशासन तथा सरकारद्वारा जारी गरिएका निर्देशनहरू पालना गर्न र आवश्यक परेमा नेपाली दूतावास वा सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, इजरायल वा इरानबाट नेपाल फर्किन चाहने नेपालीहरूको विवरण संकलनको प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल इजरायलमा करिब पाँच हजार पाँच सय नेपाली कार्यरत छन् भने इरानमा करिब एक दर्जन नेपाली रहेका छन्। सरकारको भनाइमा नागरिकको ज्यान र सुरक्षालाई सर्वोपरि मानेर यस्तो सन्देश जारी गरिएको हो। मन्त्रालयले आगामी दिनमा परिस्थितिको मूल्याङ्कन गरी थप जानकारी उपलब्ध गराइने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य