काठमाडौँ, असार ४ ।मेलम्ची खानेपानी आयोजना अन्तर्गत मेलम्चीस्थित रिबर्मा खोलाबाट थप ८ करोड लिटर पानी काठमाडौँमा ल्याएर वितरण गर्न सुरु गरिएको छ। अबदेखि उपत्यकामा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी आपूर्ति हुने भएको छ।
सोमबार खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा मेलम्चीको रिबर्मा खोलामा निर्माण गरिएको अस्थायी ट्याङ्कीको सफल परीक्षण गरिएको थियो। त्यसको भोलिपल्ट, मंगलबारदेखि उक्त खोलाबाट पानी पथान्तरण गरेर काठमाडौँमा वितरण थालिएको हो।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछानेका अनुसार परीक्षण सफल भएपछि राति नै पानी पथान्तरण सुरु गरिएको हो। “काठमाडौँमा पानी आपूर्तिका लागि रिबर्मा खोलामा बनाइएको ट्याङ्की सोमबार परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि राति नै सुरुङमार्ग हुँदै पानी पठाइएको हो,” उनले जानकारी दिए।
मेलम्ची आयोजना अन्तर्गतको स्थायी हेडबक्स निर्माण कार्य सम्पन्न नभएसम्म अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर आपूर्ति थालिएको समितिले जनाएको छ।
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट उपत्यकामा आइरहेको छ। साथै, रिबर्मा खोलाबाट ५–७ करोड लिटर र बागमतीबाट पनि ५–७ करोड लिटर पानी मिसाएर कुल १०–१४ करोड लिटर पानी थप आपूर्ति गरिने योजना रहेको छ।

