फसे पत्रकार दिलभूषण पाठक, प्रहरीलाई पक्राउ अनुमति, अदालतको रोक!

साइबर ब्युरोको सार्वजनिक सूचना : पत्रकार दिलभूषण पाठकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह

Categories:

-

काठमाडौं, असार ४ – नेपाल प्रहरीको साइबर ब्युरोले चर्चित पत्रकार दिलभूषण पाठकलाई अनुसन्धानमा सहयोग गर्न उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ। ब्युरोले गत जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि मंगलबार सूचना प्रकाशित गर्दै पाठकलाई अनुसन्धानका लागि उपस्थित हुन आग्रह गरेको हो।

सूचनामा ब्युरोले भनेको छ, “विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा दर्ता परेको जाहेरी ‘साइबर ब्यूरो ५९ (२०८१/८२)’ मा तपाईं प्रतिवादी हुनुभएको हुँदा, सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८२ जेठ २७ को आदेश अनुसार, तपाईं तत्काल साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनु होला।”

पत्रकार पाठकमाथि यो अनुसन्धान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई लिएर तयार पारिएको एक युट्युब सामग्रीपछि सुरु भएको बताइएको छ। उनले आफ्नो युट्युब च्यानलमार्फत जयवीरले काठमाडौंस्थित हिलटन होटलमा लगानी गरेको विषय उठाएका थिए, जसपछिका दिनमा सो विषयलाई लिएर उजुरी परेको थियो।

यद्यपि, सोमबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले आदेश जारी गर्दै भनिएको छ, “निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।”

अदालतले अन्तरिम आदेश दिनु अघि दुवै पक्षको बहस सुन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै, आगामी असार ५ गते छलफलका लागि उपस्थित हुन पनि आदेशमा उल्लेख गरिएको छ।

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालमा सामग्री प्रकाशनको कानुनी दायरा सम्बन्धमा नयाँ बहस जन्माएको छ। एकातिर पत्रकारहरूले अनुसन्धान र आलोचनाको स्वतन्त्रता माग गरिरहेका छन् भने अर्कातर्फ सम्बन्धित पक्षले तथ्यहीन वा आक्षेपयुक्त सामग्रीप्रति आपत्ति जनाएका छन्।

पत्रकार पाठकले यसबारे हाल सार्वजनिक प्रतिक्रिया दिएका छैनन् भने साइबर ब्युरोले अनुसन्धान प्रकृयालाई गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य