काठमाडौं ३० जेठ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षदल नेकपा माओवादीले १८ दिनदेखि गर्दै आएको संसद अवरोध शुक्रबारबाट खुलेको छ।
प्रतिनिधि सभामा देखिँदै आएको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलबीच सहमति जुटेपछि संसद्को अवरोध खुलेको छ। यद्यपी यस अघि प्रमुख प्रतिपक्षलाई साथ दिदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमतिमा असहमत छ। त्यसैले उसले संसदमा आफ्नो अवरोध कायम राख्ने बताएको छ। तर प्रमुख प्रतिपक्षदल सहमत भएपछि सभामुखले शुक्रबारदेखि रास्वपाको नाराबाजीबिच नै संसद बैठक संचालन गरेका छन् । माओवादीले सत्ता पक्षसंग सहमति गरेपछि रास्वपा भने अलपत्र परेको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको थियो ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उनीहरूबीच भएको सहमतिको पहिलो बुँदामा उल्लेख छ।
साथै दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ।
त्यसपछि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका थिए तर त्यो प्रभावहीन देखिएको थियो ।गृहमन्त्री लेखकले झण्डै पौने घण्टा बोल्दै आफ्ना आलोचकको धतुरो झार्ने प्रयास गरेका थिए ।

