काठमाडौँ, ३० जेठ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार (जेठ ३०) का लागि देशभरका ३३ जिल्लामा बाढीको सम्भावित जोखिम रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी महाशाखाले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लाका नदी तथा खोलामा बहाव बढ्न सक्ने देखिएको हो।
यीमध्ये १४ जिल्लालाई भने ‘एल्लो वारेन्ट’ अर्थात् पहेँलो चेतावनी दिइएको छ। उक्त रंगको चेतावनीले सामान्य अवस्थाभन्दा माथि मध्यम जोखिम रहेको संकेत गर्छ। पहेँलो चेतावनी प्राप्त जिल्लाहरूमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा पर्दछन्।
महाशाखाका अनुसार आगामी ३ दिनसम्म कोसी, नारायणी, कर्णाली, महाकालीसहित पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीका जलसतहहरू सतर्कता तह तलै रहने सम्भावना भए पनि तीमा घटबढ भइरहने भएकाले तटीय क्षेत्रका गतिविधिमा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरिएको छ।
महाशाखाले नदी किनारमा कृषि, चरिचारन, बालबालिका तथा बृद्धबृद्धा सुरक्षाको लागि सावधानी अपनाउन सुझाव दिएको छ। बाढीसम्बन्धी जानकारी तथा चेतावनी नियमितरूपमा अद्यावधिक भइरहेकाले स्थानीय तह, सञ्चारमाध्यम र सर्वसाधारणले समयमै जानकारी लिन र सुरक्षित उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ।




