काठमाडौँ, जेठ २९ — काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलबीच करिब पाँच महिनापछि औपचारिक छलफल भएको छ। लामो समयदेखि आपसी दूरी कायम गरेका दुई शीर्ष पदाधिकारीबीच कार्यपालिका बैठक सञ्चालन र आगामी बजेट सम्बन्धमा बुधबार विशेष छलफल भएको हो।
महानगर स्रोतका अनुसार, छलफलमा आउँदो कार्यपालिका बैठक कहिले गर्ने, कसरी प्रभावकारी बनाउने र आगामी आर्थिक वर्षको बजेट कसरी तयार पार्ने भन्नेबारे कुराकानी भएको हो। महानगरपालिकाको पछिल्लो कार्यपालिका बैठक पुस १४ गते बसेको थियो।
छलफलमा नेकपा (एकीकृत समाजवादी)का वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, नेपाली कांग्रेसबाट वडा नं. १७ का अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धर, र एमालेका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली पनि सहभागी थिए।
मेयर र उपमेयरबीचको सम्बन्ध चिसिनुको कारण प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरीसम्बन्धी विवाद थियो। मेयर बालेनले गुरागाईंलाई नगरप्रवेशमा रोक लगाउने अडान लिएका थिए भने उपमेयर डंगोलले बहुमत वडा अध्यक्ष र कर्मचारीको समर्थनमा उनलाई महानगरमा हाजिर गराएकी थिइन्।
यसबीचमा दुबै पदाधिकारी आ–आफ्नो भूमिकामा क्रियाशील रहे पनि संस्थागत संवाद र सहकार्य कमजोर थियो। अब छलफलबाट कार्यपालिका बैठक र बजेट तयारी प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।
महानगरको बजेट नीति, योजना निर्माण र सेवा प्रवाहमा शीर्ष तहबीचको समन्वय अत्यावश्यक मानिन्छ। यही कारणले बालेन र डंगोलबीचको यो भेटघाटलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।

