काठमाडौँ, जेठ २९ – प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट अवैध रूपमा कारोबार गरिएको सुन, चाँदी र हिरा जडित गहना बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले मंगलबार राति छापा मार्दै उक्त गहना बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका गहनाको बजार मूल्य करिब २ करोड १ लाख रुपैयाँ बराबरको रहेको छ। गहनासहित चार जना भारतीय नागरिकहरू – सुर्यजित दास, समिम सेख, हविवुल सेख र तमल सान्द्रा लाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिल बोहराले रातोपाटीसँग कुरा गर्दै गहना अवैध रूपमा कारोबार भइरहेको सूचना पाएपछि टोली परिचालन गरिएको जानकारी दिए। “उनीहरू गहना ओसारपसार गर्दै गरेको अवस्थामा फेला परेका थिए,” उनले भने, “सोधपुछ गर्दा उनीहरूले कुनै बिल, भौचर वा वैध कागजात देखाउन सकेनन्।”
पक्राउ परेका सबै व्यक्तिहरू भारतका बासिन्दा भएको र उनीहरू कति समयदेखि नेपालमा बसेर कारोबारी कार्यमा संलग्न थिए भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका गहनामा हिरा जडित औंठी, चुरा, सिक्री, झुम्का, तथा चाँदीका विभिन्न गहना सामग्रीहरू छन्।
प्रहरीले उक्त कारबाहीलाई अवैध सुनचाँदी कारोबारीहरूविरुद्धको विशेष अभियानको एक भागका रूपमा लिएको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा चोरी पैठारी र अवैध गहना कारोबारका घटनामा वृद्धि भइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि कस्टम ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ। साथै, गहना कसरी र कुन माध्यमबाट नेपाल भित्रिएको हो भन्नेबारे विस्तृत अनुसन्धान थालिएको छ।
काठमाडौँ उपत्यकामा हुने अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले यस्ता निगरानी र छापामार कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।


