अनेरास्ववियुमा मतदान सुरु: चुनाव सुजन  र प्रकाशको,  तनाव  बालुवाटारको

-

काठमाडौं  २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि अहिले १० बजेबाट मतदान सुरु भएको छ।  झट्ट हेर्दा  यो एउटा विद्यार्थी सङ्गठन भित्रको चुनाव भए पनि यसले एमाले भित्रको राजनीतिक चरित्र प्रकट गर्दछ।
केही समय यता एमाले भित्रको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सार्बजनिक रूपमै सवाल जवाफ भएपछि  यो निर्वाचनलाई पनि त्यसै अनुरूप अनुमान गर्न थालिएको छ।
विगत केही समय देखि निर्वाचन नगराई आफू अनुकूलको नेतृत्व ल्याउने योजना विफल हुँदै गएको छ। अनेरास्ववियुको  नेतृत्व पनि विना चुनाव नाम टाँसेर चयन गर्ने तयारीमा थियो बालुवाटार । तर विद्यार्थी प्रतिनिधिहरूले चुनावको माग गर्दै हलमा नाराबाजी गरेपछि निधार खुम्च्याउर्दै यो निर्वाचन भइरहेको छ।
निर्वाचनमा डा. सुजन कँडेल र प्रकाश पौडेलबिच तीव्र प्रतिस्पर्धा  देखिएको छ। उनीहरू दुवै विद्यार्थी आन्दोलनमा लामो समयदेखि नै होमिई रहेका युवा नेता हुन् । उनीहरू दुई मध्ये जसले चुनाव जिते पनि विद्यार्थी आन्दोलनको साख नघट्ने धेरेको अनुमान छ। यी दुवैले चुनावलाई प्रतिष्ठाको विषय बनाएको देखिएको छैन। त्यसै गरी यी दुबैलाई जित हारको पनि कुनै चिन्ता देखिएको छैन। तर चिन्ता बालुवाटारलाई बढी भएको स्रोतले बतायो। आफूले समर्थन गरेको उम्मेदवारले हारेको खण्डमा एमालेको आगामी महाधिवेशनको प्रारम्भिक नतिजा त्यही बाट सुरु हुने बालुवाटारको चिन्ता रहेको बताइएको छ।

कीर्तिपुर स्थित  टियु परिसरमा भरखरै चुनाव सुरु भएको छ। निर्वाचन समितिका अनुसार ४३ वटा इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ।  ।
समितिले आज बेलुका ४ बजेसम्म लाइन बस्नेलाई मात्र मतदान गर्न दिने जनाएको छ ।
मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मत परिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य