काठमाडौं, २८ जेठ। अनेरास्वियुको महाधिवेशनमा बुधबार दशबजेबाट निर्वाचन हुने भएको छ। सर्वसम्मतको प्रयास विफल भएपछि आज निर्वाचन हुने भएको हो । हिजो राति अबेर सम्म उम्मेदवारी दर्ता भएको थियो ।
अध्यक्ष मण्डलका संयोजक रहेका भानुभक्त ढकालले अध्यक्ष मण्डलको आचार संहित सुनाउने भन्दै ‘माथिको तोक आदेशको’ नेतृत्वको नाम पढेर सुनाउ थालेपछि हलमा नाराबाजी सुरु भएको एक नेताले बताए। उनले अरु जनबर्गीय संगठनमा जस्तै माथिको तोक आदेश लागु गर्न खोज्दा होहल्ला र नाराबाजी भएको थियो। अन्तिममा पुरै हल तोक आदेश विरुद्ध उत्रिएपछि बुधबार निर्वाचन हुन लागेको हो।
तोक आदेशको सूचीमा परेका कतिपय विद्यार्थी नेता समेत हलको सेन्टीमेन्टका कारण नेतृत्वमा चुनिन कठिन हुने एक बिद्यार्थी नेताले रातो सूर्यलाई बताए। उनका अनुसार सहमतिबाट नेतृत्व चुन्ने नाममा हललाई वाईपास गरेर नाम पढेर सुनाउन प्रयास गरिएको थियो। तर नाम पढुन सुरु गर्ने वित्तिकै हलमा नाराबाजी सुरु भएको थियो। उनका अनुसार ढकालले मंगलबार देखाएको यो रवैयाका कारण महाधिवेशन परै एन्टी तोक आदेशमा जाने संभावना बढेको छ।
निर्वाचनमा अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ ।
महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।
गोपाल नेपाल , रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।
चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको थियो । कार्य तालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख थियो ।
मतदान बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । अन्तिम नामावली भने आउन बाँकी छ । मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ ।


