काठमाडौं २७ जेठ । काठमाडौंको टोखा क्षेत्र, ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीसँगको मुठभेडमा दुई जना प्रहरी कर्मचारी घाइते भएका छन्। मंगलबार दिउँसो प्रहरी इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले लागुऔषध नियन्त्रण अभियान चलाउँदा यो घटना भएको हो।
प्रहरीले गोप्य सूचनाका आधारमा टोखा क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचना पाएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोली अपरेशनमा खटिएको थियो। अपरेशनका क्रममा लागुऔषध कारोबारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा गोली चलेको प्रहरीले जनाएको छ।
घाइते हुने प्रहरी कर्मचारीहरूमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्। दुवैको ग्राण्डी अस्पतालमै उपचार भइरहेको बताइएको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
घटनास्थलबाट प्रहरीले करिब १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ। मुठभेडपछि दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ। पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागेको बताए।
टोखा क्षेत्र विगतमा पनि विभिन्न आपराधिक गतिविधि, खासगरी २५ करोड रुपैयाँको विदेशी मुद्रा तस्करी प्रकरणले चर्चामा आएको थियो। प्रहरीले पछिल्ला दिनमा अपराध नियन्त्रणका लागि कडा अभियान चलाइरहेको छ।

