भण्डारी र ओलीको सार्बजनिक सवाल–जवाफले एमालेभित्र कित्ताकाटको घण्टी

-

काठमाडौं, २७ जेठ । नेकपा (एमाले) भित्र लामो समय देखि भित्र भित्रै गुम्साएको एउटा राजनीति विस्तारै बाहिर आउन थालेको छ। त्यो हो एमालेमा ओलीको बिकल्पमा पूर्ब राष्ट्रपति विद्या भण्डारीको नेतृत्व।
एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीदेखि दिक्क भएको सो पार्टीका नेताहरु समेत यसबेला ओलीको विकल्प खोज्न आतुर देखिएका छन् । एमालेका एक नेता भन्छन् – ओलीको कार्यशैलीले वाक्क भएका कारण एमाले बचाउन पनि विकल्पको जरुरी भएको छ, त्यसका लागि उपयुक्त नेतृत्व दिने नेता हुन् पूर्व राष्ट्रपति भण्डारी ।
पार्टी भित्र ओलीको विकल्पमा नेतृत्व खोजि गर्न थालेपछि भण्डारीको नाम अगाडि आएको बताइएको छ। त्यसैले भण्डारी लामो समयदेखि देश दौडाहमा रहेकी छन् । जिल्लामा नेता तथा कार्यकर्ताहरुले एमालेमा अबको नेतृत्व लिन उनलाई हरियो झण्डा देखाइरहेको बताएको छ। जुन बिषय प्रधानमन्त्री ओलीलाई चित्त बु्झेको छैन।
नेतृत्वको यही असमझदारीले गहिरो रुप लिँदै जाँदा अब पार्टी ‘किताकाट’को संघारमा पुगेको संकेत देखिन थालेको छ। हालै विराटनगरमा दिएको अभिव्यक्तिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वाम एकता तत्काल सम्भव नरहेको र आफू जिल्ला दौडामा जाँदा एमालेसँग अनुमति लिनु नपर्ने भनाइसँगै, ओली नेतृत्वविरुद्ध आन्तरिक असन्तुष्टिको संकेत झन् प्रष्ट भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा बोलेका केही कुरा थप चर्चा र विवादको विषय बनेका छन्। विशेषगरी, उनले ‘७० वर्षपछि सक्रिय कार्यकारी पद नलिने’ र ‘एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी नेतृत्वमा नरहने’ जस्ता सीमांकनको अस्विकार गरेको घोषण गरेका छन् । ‘ म अहिले ७४ बर्षको भएँ, पार्टी अध्यक्ष छु , के अब ७० भने मेरो ४ बर्ष उमेर घटाउने’ ओलीको भनाई थियो। उनले सो क्रममा दुई कार्यकाल समेत नमान्ने अनौपचारिक घोषणा गरेका छन् । उनी अहिले अध्यक्षको दोस्रो कार्यकाल रनिंग गरीरहेका छन् ।
ओली र भण्डारीका दुई फरक भनाईले पार्टीभित्र लुकेको असन्तुष्टि सतहमा आउन थालेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछिल्ला दिनमा जिल्ला जिल्लामा सामाजिक कार्यक्रमको नाममा व्यापक दौडाहामा छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले खुलेर भनिन्, “म अहिले कुनै पदमा छैन, जहाँ जान्छु एमालेसँग सोधेर जानु पर्दैन।” तर राजनीतिक वृत्तमा उनको यो सक्रियतालाई ‘राजनीतिक पुनर्संलग्नता’ को संकेतका रूपमा हेरिएको छ।
एक एमाले केन्द्रीय सदस्य भन्छन –“पार्टीभित्र ओलीसँग असन्तुष्ट धेरै नेता अहिले भण्डारीको वरिपरि जम्मा हुन थालेका छन्। उनीहरूलाई ओलीको ‘केन्द्रीकृत शैली’ ले थिचिरहेको महसुस भएको छ।”
एमालेमा केपी ओलीको लामो नेतृत्व र निर्णय शैलीले गर्दा पार्टीभित्र बहस त थियो नै, तर अहिले त्यो असन्तुष्टि संगठित रुप लिने चरणमा पुगेको देखिन्छ।
ओली आफैंले त दुई कार्यकाल मात्रै होइन, झन्डै दुई दशकदेखि पार्टीको निर्णायक कुर्सी सम्हालिरहेको एक नेताले बताए एक वरिष्ठ नेताले टिप्पणी
राजनीतिक वृत्तमा अहिले एउटा चर्चा तातो छ—के ओलीविरुद्धको असन्तुष्ट धारा विद्या भण्डारीको नेतृत्व वा आशीर्वादमा नयाँ गुट वा धार बन्ने हो? खासगरी, झलनाथ खनाल, माधवकुमार नेपालजस्ता नेताहरू अलग भइसकेपछि बाँकी रहेका असन्तुष्ट नेताहरू नयाँ गन्तव्य खोजिरहेका छन् । उनीहरु ओली नेतृत्वमा रहुन्जेल पार्टी एकता नहुने अडानमा बसेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति समेत ओलीको प्रतिकु्ल बन्दै भण्डारीको पक्षमा देखिएको विश्लेषकहरु बताउछन् ।
एक विश्लेषकको बुझाइमा, “एमालेभित्र अर्को विभाजनको सम्भावना तत्काल नदेखिए पनि रणनीतिक ध्रुवीकरण तीव्र भएको छ। यसमा भण्डारीको सक्रियता निर्णायक बन्न सक्छ।”
एमाले अहिले नेतृत्व हस्तान्तरणको संवेदनशील मोडमा पुगेको छ। विद्या भण्डारीको बढ्दो सक्रियता र पार्टीभित्र बढ्दो असन्तुष्टिले पार्टीभित्रको शक्ति समीकरण फेरिने संकेत दिइरहेका छन्। भित्रभित्रै ज्वालामुखीझैं सल्किरहेको असन्तुष्टि कहिले विस्फोट हुन्छ भन्ने प्रश्न अब मात्र समयको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य