काठमाडौं, जेष्ठ २६ ।राष्ट्रिय सभा सांसद तथा वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले मुलुकमा अविलम्ब समाजवाद घोषणा गर्नुपर्ने माग गरेका छन्। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले समाजवाद नै समृद्धिको एकमात्र बाटो भएको दाबी गरे।
उनका अनुसार देश अहिले यस्तो दिशामा अगाडि बढिरहेको छ, जहाँ “भ्रष्टाचार नगरी नेता टिक्दैन, चुनाव जितिन्न, र राज्यलाई धोका दिनैपर्ने” प्रवृत्ति मौलाइरहेको छ। यस्तो अवस्था अन्त्य गर्न समाजवादी प्रणाली आवश्यक रहेको गौतमले बताए।
“समाजवाद घोषणा गर्ने बेला भएको छ, ढिला गर्नुहुँदैन,” गौतमले भने, “समाजवादको बाटोमा हिँड्दा मात्रै हामी समृद्ध बन्न सक्छौं, नत्र अहिलेको जस्तो गरिबी, शोषण र भ्रष्टाचार कायम रहन्छ।”
गौतमले संविधानमा समाजवाद उल्लेख भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकोप्रति गुनासो गर्दै कार्यान्वयनमा ढिलाइ रोक्न आग्रह गरे। “नेपालमा कुनै अभाव छैन, सम्पूर्ण सम्भावना यहीं छन्, आवश्यकता छ त केवल नीति परिवर्तनको,” उनले स्पष्ट पारे।

