काठमाडौं, जेष्ठ २६ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेतृत्वको टोली लुम्बिनी भ्रमण सकेर फर्किएको छ। यद्यपि, उक्त भ्रमणको उद्देश्यभन्दा पनि टोलीमा संलग्न व्यक्तित्व र तिनको पृष्ठभूमिले राजधानीको राजनीतिक वृत्तमा व्यापक चर्चा पैदा गरेको छ।
उपमेयर डंगोलले लुम्बिनी लगेका जनप्रतिनिधिमा ती वडाध्यक्षहरू थिए, जसलाई मेयर बालेन्द्र शाह (बालेन) ले अघोषित रूपमा जिम्मेवारीबाट हटाएका थिए। भ्रमणमा १७ नं. वडाध्यक्ष तथा महानगर प्रवक्ता नवीन मानन्धर, २० का राजेश श्रेष्ठ, ८ का आशामान संगत र २३ का मचाराजा महर्जन सहभागी थिए।
उनीहरूमध्ये आशामान सम्पदा तथा पर्यटन समिति, नवीन सूचना प्रविधि समिति र मचाराजा विधायन समितिको संयोजक थिए। तर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँसम्बन्धी विवादपछि मेयर शाहले उनीहरूलाई ती भूमिकाबाट हटाएका थिए। बालेनले त्यसपछि ३० नं. वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन, २४ का विनोदकुमार राजभण्डारीलाई सम्पदा, ५ का वीरेन्द्र प्रजापतिलाई सूचना तथा १६ नं. की रोजिना श्रेष्ठलाई विधायन समितिको संयोजक तोकेका थिए। तर रोजिनाबाहेक अन्य तीन वडाध्यक्षले नयाँ जिम्मेवारी लिन मानेका छैनन्।
स्रोतका अनुसार मन्दिर अवलोकन भ्रमणको नाममा गरिएको लुम्बिनी यात्रा वास्तवमा राजनीतिक संकेत बोकेको थियो। उपमेयर र मेयरबीच चिसिएको सम्बन्धको पृष्ठभूमिमा उपमेयरले पुनः सक्रिय बनाउन खोजेका यी वडाध्यक्षहरू राजनीतिक रूपमा उनीनिकट मानिन्छन्। ‘मेयरले कारबाही गरेका व्यक्तिहरूलाई किन भ्रमणमा लिएर जानु?’ भन्ने प्रश्न उठ्दै आएको छ।
यसबीच, मेयर शाहले प्रवक्ता मानन्धरसँग एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका आधारमा स्पष्टीकरण मागेका थिए। नवीनले गत वर्ष प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई मेयरको असहमतिकाबीच कार्यकक्षमा प्रवेश गराएका थिए। त्यस घटनापछि उनीप्रति मेयर असन्तुष्ट थिए। उक्त घटनालाई लिएर नवीनलाई जिम्मेवारीबाट हटाइयो र पछिल्लो टेलिभिजन अभिव्यक्तिका लागि स्पष्टीकरण चिठी दिइयो। तर स्रोतका अनुसार उनले चिठी खोलेर हेरेपछि “स्पष्टीकरण मागिएको” थाहा पाएर चिठी फर्काइदिएका छन्।
यस्ता घटनाक्रमहरूले काठमाडौँ महानगरपालिकाको भित्री प्रशासनिक नेतृत्वबीचको टकराव झनै सतहमा आएको देखिन्छ। उपमेयर र मेयरबीचको अधिकार र प्रभावको रस्साकस्सी अझै चर्कँदै गएको प्रष्ट हुन थालेको छ।

