काठमाडौं, जेष्ठ २५ – बुढानीलकण्ठ नगरपालिकाको १६औं नगरसभा अधिवेशन सम्पन्न भएको छ। आइतबार नगर कार्यालयको सभाहल हात्तीगौंडामा बसेको अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
अधिवेशनमा नगर प्रमुख मिठाराम अधिकारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षका लागि १४ वटा प्राथमिकता क्षेत्र तय गरिएको छ। तीमध्ये गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ। स्वास्थ्य संस्थाको स्तरोन्नति र विद्यालयमा शिक्षण गुणस्तर सुधार गरिने लक्ष्य लिइएको छ।
दिगो पूर्वाधार निर्माण, सूचना प्रविधिको उपयोग, वातावरण संरक्षण, फोहोरमैला तथा विपद् व्यवस्थापन क्रमशः दोश्रोदेखि चौथो प्राथमिकता बनेका छन्। स्मार्ट सिटीको अवधारणालाई कार्यान्वयनमा लैजाने योजना पनि स्पष्ट गरिएको छ।
पाँचौं प्राथमिकतामा आर्थिक विकास र राजस्व परिचालन छ। नगरभित्रको आयआर्जन वृद्धि र पारदर्शी राजस्व व्यवस्थापनमा जोड दिइने भएको छ। पर्यटन प्रवर्द्धन, खानेपानी स्रोत संरक्षण, सार्वजनिक जग्गा संरक्षण जस्ता विषयलाई पनि छुट्टै प्राथमिकतामा राखिएको छ।
नीतिमा प्रशासनिक पुनर्संरचना, सुशासन, भाषा-संस्कृति संरक्षण, उद्यम र स्वरोजगार, युवा तथा खेलकुदको प्रवर्द्धन जस्ता क्षेत्रलाई पनि प्राथमिक स्थान दिइएको छ। साथै, कृषि तथा पशुपालनको व्यवसायीकरण र महिला, सिमान्तकृत समुदायको समावेशीकरण अन्तिम प्राथमिकता क्षेत्रका रूपमा उल्लेख छन्।
नगरपालिकाले नीति तर्जुमा गर्दा संविधान, संघ तथा प्रदेश सरकारका मार्गदर्शन, आवधिक योजना, दिगो विकास लक्ष्य (SDGs), स्थानीय सरकार सञ्चालन ऐन, विभागीय प्रतिवेदन र विज्ञ परामर्शलाई आधार बनाएको उल्लेख गरिएको छ।
सभामा सहभागी नगरसभा सदस्यहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्। अब कार्यान्वयनमा कति प्रभावकारिता देखिन्छ भन्ने कुराले यसको सफलता तोक्नेछ।
| क्र.सं. | प्राथमिकता क्षेत्र |
|---|---|
| १ | गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा |
| २ | फलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास |
| ३ | सूचना प्रविधि र तिनको अधिकतम उपयोग |
| ४ | वन तथा वातावरण संरक्षण, फोहोरमैला तथा विपद् व्यवस्थापन |
| ५ | आर्थिक विकास र राजस्व परिचालन |
| ६ | पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन |
| ७ | खानेपानी श्रोतको संरक्षण तथा व्यवस्थापन |
| ८ | सार्वजनिक जग्गाको संरक्षण |
| ९ | प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन |
| १० | भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवर्द्धन र विकास |
| ११ | उद्यम, स्वरोजगारी र सहकारीताको विकास |
| १२ | युवा शक्ति तथा खेलकुदको प्रवर्द्धन |
| १३ | कृषि तथा पशुपक्षी क्षेत्रको व्यवसायिक विकास, उत्पादकत्व अभिवृद्धि र बजारीकरण |
| १४ | जनसांख्यिक लाभको उच्चतम उपयोग, समावेशीकरण तथा महिला र सिमान्तकृत समुदायको मूलप्रवाहीकरण |

