ललितपुर,२४ जेठ — नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। शाखाको कार्यमूलक बैठकबीच आयोजित कार्यक्रममा पाँच लाख रुपैयाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरिएको हो।
पाँच लाख रुपैयाँ बराबरको अक्षयकोष समाजसेवी सिद्धिबहादुर महर्जनले आफ्नी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गरेका हुन्। उक्त सम्झौतापत्रमा समाजसेवी महर्जन र शाखा अध्यक्ष रामहरि कार्कीले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा बोल्दै महर्जनले आम जनतालाई सूचित गर्न तल्लीन सञ्चारकर्मीको हकहितका लागि सानो योगदान दिन पाउँदा आफू गौरवान्वित भएको बताए।
वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले पुरस्कारले निष्पक्ष र निर्भीक पत्रकारितालाई हौसला दिने उल्लेख गर्दै महर्जन परिवारको योगदानको प्रशंसा गरे। त्यस्तै, पूर्वअध्यक्ष ज्ञानप्रसाद पौडेलले नेतृत्व गरेका बेला सुरु भएका सकारात्मक प्रयासहरू निरन्तरता पाएकोमा सन्तोष व्यक्त गरे।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले ललितपुर शाखा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा क्रियाशील रहेको भन्दै प्रशंसा गरे।
शाखा अध्यक्ष रामहरि कार्कीका अनुसार, यो पुरस्कार हरेक वर्ष शाखाको वार्षिक साधारणसभामा जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई प्रदान गरिनेछ। विशेषगरी धर्म, संस्कृति, कला र स्थानीय सरोकारमा कलम चलाउने पत्रकारहरूलाई यसले प्रोत्साहित गर्ने उनले बताए।
शाखा सचिव दीपक अर्यालले रकम हस्तान्तरण भएसँगै अक्षयकोष कार्यान्वयनमा आइसकेको जानकारी दिए।
कार्यक्रममा स्वर्गीय हिराकुमारी महर्जनकी सन्तान प्रेमसिंह महर्जन र सरोज डंगोलको उपस्थिति रहेको थियो।



