रातको सन्नाटाले मेरो निद्रालाई अझ गहिरो बनाइरहेको थियो। चारैतिर सुनसान थियो, केवल भित्री मनका लहरहरू तरंगित थिए। लामो समयपछि उनी आइन्।
उनी—हामी वर्षौं अघि हराएको थियौँ, तर मनबाट कहिल्यै हटाउन सकेको थिइनँ।
म उनी देखेर स्तब्ध भएँ। शब्द निस्किएन। मुख खोल्न खोजेँ, तर गला अवरुद्ध भयो। भेट पनि कति रहस्यमय हुन्छ, न त हाम्रो मर्जीले आउँछ, न त मर्जीले जान्छ।
तर त्यो रात, मेरो अन्तरआत्माको सबैभन्दा सजीव हिस्सा फेरि मेरो सामु उभिएको थियो।
उनी आइन्। एकदम शान्त अनुहार, हल्का मुस्कान, तर आँखामा गहिरो वेदना थियो। मलाई देख्ने बित्तिकै उनले अर्कोतर्फ हेरेर भनिन्,
“हेर न, कति दुब्लाइस। गाला त सुकेको छ सरासर। शायद मेरो चिन्ताले होला…“
म केही बोल्न सकिनँ। यति धेरै समयपछि भेट भएको थियो, तर आवाज मुखसम्म आइपुगेर थिचिन्थ्यो।
हामी दुई जनाले एक अर्कालाई हेरेर मात्र बस्यौँ।
एक किसिमको मौनता थियो, जुन शब्दभन्दा गहिरो थियो।
लामो सास फेरेका थियौँ दुबै, बोल्ने आँट कसले गर्ने भन्ने अन्यौलमै समय बित्थ्यो।
ओठ हल्लिरहेका थिए तर आवाज निस्किरहेको थिएन।
अचानक मैले आँट गरेँ।, केही भन्नैपर्छ भन्ने लाग्यो।
“के छ हालखबर?“
शब्द निस्किए। त्यो आवाजमै कम्पन थियो, डर, लाज र माया मिसिएको।
उनले हल्का करुणासँग जवाफ दिइन्,
“बाँचेकै छ…“
त्यो उत्तरमा बाँचाइको पीडा थियो।
त्यसपछि, कुनै पूर्वसूचना बिना उनले मेरो गालासम्म हात ल्याइन्।
हात हल्का काँपिरहेको थियो।
उनले गाला मुसारिन्।
“म पनि त तिमी बिना अधूरो छु…“
उनी फुसफुसाइन्।
त्यो वाक्यले मेरो पुरै शरीरलाई भिजायो।
हात आफैँ उठे, र हामी एक अर्काको अँगालोमा बिलायौँ।
त्यो अँगालो कुनै शारीरिक इच्छा होइन, एक आत्मीयता थियो।
वर्षौंका दूरी, छुटाइ, पीडा, आशा, सबै भिजेर निथ्रुक्क बनेको त्यो क्षण—
जसमा हाम्रो प्राण आत्मासम्म गाँसिएको थियो।
जीवनको सागरमा हामी चुलुम्म डुबेका थियौँ।
छुटिनै नचाहने अँगालो, रोकिनै नसक्ने अश्रुधार।
केही क्षण त हामी केवल रुयौँ, भावनाका बलिन्द्र आँसुका भेलमा डुबेर।
तर…
अचानक सपना टुट्यो।
आँखा खुल्यो।
बिस्तरामा थिएँ। तकिया निथ्रुक्क भिजेको थियो।
न उनी थिइन्, न अँगालो।
केवल म थिएँ—एक्लो, सुनसान, आफ्नो आँसुमै भिजेको।
बिस्तारै आँसु पुछेँ। रुमाल झिकेँ।
घडी हेरेँ—बिहान चार बजेको रहेछ।
“यो त सपना मात्र रहेछ…“
तर त्यो सपना केवल सपना थिएन। त्यो मेरो अधुरो प्रेम थियो।
त्यो त एक संवाद थियो, जुन मैले साक्षात भेट्न नपाएको आत्मासँग गरेको थिएँ।
त्यो त त्यो माया थियो, जसको अन्त्य कहिल्यै म स्वीकार गर्न सक्दिनँ।
जागिरहेको बखत म उनलाई बिर्सिन खोज्छु,
तर सुत्दा उनी नै आउँछिन्।
मेरा प्रत्येक रात, उनीसँगै बाँच्छन्।
र प्रत्येक बिहान उनी बिना टाढिन्छन्।
त्यो मिठो सपना—जुन मेरो जिन्दगीकै सबैभन्दा गहिरो साँचो हो।
उनी अझै कतै छिन्—सपना भित्र, याद भित्र, आशु भित्र।
म बाँचिरहेछु, तर अधूरो।
उनी पनि सायद, उता कतै अधूरी नै होलिन्।
अब हरेक बिहान एउटा नयाँ पीडासँग शुरू हुन्छ,
तर म तिनै सपनाको पर्खाइमा बस्छु,
जहाँ म फेरि त्यो गाला मुसारिएको स्पर्श पाउँछु,
जहाँ फेरि उनी भन्छिन्,
“तिमी बिना म अधूरी छु…“