काठमाडौं २२ जेठ। नेपालको राजनीतिक मैदानमा फेरि एक पटक माधव कुमार नेपालको नाम चर्चाको शिखरमा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पताञ्जली जग्गा प्रकरणमा बिहीबार बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि यस्तो परीक्षा सामु देखा परेको हो।
संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रमा हार बेहोरेका नेपालले त्यस बेला पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै तत्कालीन एमाले महासचिवको पदबाट राजीनामा दिएका थिए। त्यो क्षण नेपाली राजनीतिमा उनीप्रति ‘नैतिकता अपनाउने नेता’ का रूपमा छुट्टै छाप थियो। तर अहिले, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल फेरि उस्तै सङ्कटमा उभिएका छन् – फेरि एक पटक नैतिकताको परीक्षणको कठघरामा। छन् ।
यस पटकको प्रसङ्ग फरक भए पनि मूल प्रश्न भने उही छ नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजीनामा दिएर नैतिकता देखाउने वा नदेखाउने यो जिम्मा नेपालको कोर्टमा गएको छ।
२०६४ सालमा संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएपछि माधव नेपाललाई माओवादी पार्टीले संविधान निर्माणका लागि आवश्यक व्यक्ति भन्दै समर्थन जनाएर राष्ट्रपतिबाट संविधानसभा सदस्य मनोनीत गराएका थिए। त्यसपछिको १८ महिनासम्म उनी देशको प्रधानमन्त्री भए। अर्थात् पराजयपछिको त्यो समय राजनीतिक पुनरुत्थानको अवसर बन्यो।
अहिले अख्तियारले बिहीबार मुद्दा दर्ता गरे लगतै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। तर पार्टी अध्यक्षमा रहने कि नरहने यो गम्भीर प्रश्न नेपाल सामु उत्पन्न भएको छ।
यहाँ एउटा मुख्य तर्क उठ्छ – यदि माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिए भने, पार्टीकै अस्तित्व सङ्कटमा पर्न सक्छ। नेकपा एस मूलतः माधव नेपालको नेतृत्वमा स्थापित र परिचालित दल हो। उनको व्यक्तिगत पहिचान र राजनीतिक विरासतमै पार्टीको आधार छ। यस्तो अवस्थामा उनको पछाडि सशक्त दोस्रो पङ्क्तिको अभावले नेतृत्व हस्तान्तरण कठिन बनाउँछ। त्यसैले कतिपय नेताहरू भन्छन्, “माधव नेपाल छैन भने नेकपा एस नै छैन।”
यता, माधव नेपालले नैतिकताको नाममा विगतमा राजीनामा दिएको इतिहास छ। फेरि उस्तै पराजयपछि नेतृत्वमा टाँसिएर बस्दा ‘त्यो नैतिकता कहाँ हरायो?’ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। राजनीतिमा नैतिकता सधैँ सुविधा अनुसार होस् भन्ने अपेक्षा जनताले गरेका हुँदैनन्। विगतका आफ्नै उदाहरणहरूले उनलाई अझ गम्भीर बनाउँछ।
माधव नेपालको अगाडि अब दुई वटा बाटो छन् – पहिलो, नयाँ नेतृत्वका लागि मार्ग खुला गर्दै राजीनामा दिने र दोस्रो, आफूभित्र पुनःसंगठनको शक्ति खोज्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा लाग्ने। पहिलो बाटोले नैतिकताको उच्च धरातलमा राख्न सक्छ, तर पार्टीको भविष्य अन्योलमा पार्न सक्छ। दोस्रो बाटोले समय त दिन सक्छ, तर आलोचनाको घेराभित्र पार्न सक्छ।
संविधानसभा निर्वाचनपछिको त्यो पहिलो परीक्षा जस्तै, अहिलेको परिस्थिति पनि माधव नेपालका लागि ऐतिहासिक मोड हो। निर्णय जे भए पनि, यो केवल उनको व्यक्तिगत राजनीति होइन, नेकपा एसको भविष्यसँग गाँसिएको छ। त्यसैले उनको निर्णय दीर्घकालीन राजनीतिक सन्देशवाहक बन्नेछ।
यसरी हेर्दा, यो केवल राजीनामाको विषय होइन – यो नेपाली राजनीतिमा व्यक्तिगत नैतिकता र संस्थागत अस्तित्वबिचको द्वन्द्व हो। माधव नेपालले कुन बाटो रोज्छन् सायद यही प्रश्नले आगामी दिनमा नेपालको राजनीतिके दिशा तय गर्नेछ।


