spot_img
29.1 C
Kathmandu
Sunday, June 22, 2025

राजा ल्याउने आन्दोलन पानीको फोका जस्तो विघटनको संघारमा , माइक छोडेर हिडे कमल थापा

-

काठमाडौं, जेठ २१। राजसंस्था पुनःस्थापनाका लागि बोलाइएको संयुक्त जनआन्दोलन परिचालन समितिको भेला आज नवदुर्गा पार्टी प्यालेसमा अनिर्णित रुपमा टुंगिएको छ। आन्दोलनलाई नयाँ दिशा दिने अपेक्षासहित भएको भेला अन्ततः असन्तुष्टि, होहल्ला र आरोप–प्रत्यारोपबीच स्थगित हुन पुग्यो। भेलामा आन्दोलनको मुख्य नेतृत्वकर्ता पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित रहेपछि नयाँ आन्दोलन गर्न बसेको बैठक होहल्ला र अनिर्णयमा पुगको हो।

कार्यक्रममा सहभागी युवा कार्यकर्ताहरूले नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै “अब बुढाहरूले आन्दोलनको नेतृत्व गर्न सक्दैनन् भन्ने नारासमेत लगाएका थिए। यिनै असन्तुष्टिका बीच संयोजक नवराज सुवेदीले भेला स्थगित गर्दै “सानो कमिटीले बेलुकासम्म नयाँ कार्यक्रम ल्याउने“ बताएका थिए। तर यो अभिव्यक्तिले युवाहरूलाई सन्तुष्ट पार्न सकेन।

भेलामा सहभागी राप्रपा अध्यक्ष कमल थापाले मञ्चबाटै असन्तुष्टि पोख्दै माइक त्यागे। “तपाईंहरू नसुन्ने भए म बोल्दिन,“ भन्दै उनी आक्रोशित रुपमा माइक छाडेर निस्किए। थापाको यो व्यहोरा आन्दोलनभित्र गहिरिँदो मतभेदको संकेत हो।
त्यसपछि राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले भेलालाई शान्त पार्न खोजेका थिए , तर सहभागीहरुले होहल्ला गरिनै रहे
यस्तो अवस्था उत्पन्न भएपछि स्वामीको भेषमा आएका एक सहभागी भन्दै थिए – धर्म भनेको अनुशासन हो, तपाईहरु यो हो हल्ला गरेर केपी ओलीलाई जात्रा देखाइरहनु भएको छ। यस्तो तारिकाले राजसंस्था ल्याउने आन्दोलन गर्न सक्नुहुन्छ?“ भन्ने प्रश्न उठाउँदै केही युवाहरूले नेतृत्वको गम्भीर आलोचना गरे।

एक युवा कार्यकर्ताले बेलैमा नेतृत्व परिवर्तन नभए आन्दोलनको ध्येय नै गुम्ने चेतावनी दिए। “तपाईंहरूको यो जात्राले केपी ओलीलाई मात्रै सजिलो बनाइदिएको छ,“ उनले भने। उनको तर्क अनुसार राजसंस्था पुनःस्थापनाको सशक्त दबाब बनाउनुको सट्टा, अहिलेको नेतृत्वले आन्दोलनलाई ’प्रहसन’ बनाइरहेको छ।
यसअघि भेलामा मिडियालाई प्रवेश दिइएको थियो, जसप्रति युवाहरू असन्तुष्ट देखिए। केही समयपछि मिडियालाई बाहिर निकालेर युवाहरूले छुट्टै भेला गरे। त्यो भेलामा करिब ५० जना युवा सहभागी थिए, जसमा आन्दोलनलाई नयाँ नेतृत्व दिनुपर्ने आवश्यकता बारे गम्भीर छलफल भयो।
कार्यक्रम सकिएपछि नेताहरू नवदुर्गा पार्टी प्यालेसबाट बाहिरिए, तर केही कार्यकर्ताहरू भने अझै पनि बसिरहेका थिए। उनीहरू गुनासो गर्दै थिए— “हामी आन्दोलनमा हो, तर आन्दोलनको लक्ष्य र शैली स्पष्ट हुनुपर्छ।“ उनीहरूको बुझाइमा अहिलेको नेतृत्वले न त स्पष्ट खाका प्रस्तुत गर्न सकेको छ, न त कार्यकर्ताको भावनालाई समेट्न।

एक वरिष्ठ कार्यकर्ताले भने, “संविधानले राजसंस्थाको व्यवस्था हटायो, तर जनभावना अझै बाँकी छ। यदि आन्दोलन नै कमजोर र बिखण्डित भयो भने यो भावनाले पुनः सशक्तता पाउने सम्भावना गुम्छ।“

राजसंस्थाको पक्षमा रहेको यो आन्दोलन अहिले दोबाटोमा पुगेको देखिन्छ। युवा पुस्ता, जुन परिवर्तनको संवाहक हो, नेतृत्वसँग असन्तुष्ट छ। पुराना नेता अझै पुरानै शैलीमा अडिएका छन्। यी दुई पुस्ताबीचको संवाद टुटिरहेको छ, जसले आन्दोलनको भविष्य अन्योलतामा राखेको छ।

आन्दोलन अब कुन दिशामा जान्छ— त्यो नेताहरूको नयाँ घोषणामा निर्भर हुनेछ। तर हालसम्मको अवस्था हेर्दा नेतृत्वको नवीकरण र रणनीतिक स्पष्टता नभएसम्म, आन्दोलनले अपेक्षित जनसमर्थन पाउन गाह्रो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग