काठमाडौँ, जेठ २०। कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन माग गर्दै संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले आफ्नो आन्दोलनलाई आज पनि निरन्तरता दिएको छ।
पहिले संघीय संसद भवनको पश्चिम गेटमा आयोजना गर्ने भनिएको धर्ना कार्यक्रमलाई संशोधन गरी सञ्जालले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रांगणमै धर्ना दिएका हुन्। आन्दोलन निर्देशन समितिको आज बसेको बैठकले धर्ना कार्यक्रमलाई आगामी जेठ २३ गतेसम्म निरन्तररूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
संराट्रेट्युसले निजामती कर्मचारीको हकहित सुनिश्चित गर्ने, पेशागत सुरक्षाको प्रत्याभूति दिने र संघीय शासन प्रणालीअनुसार स्पष्ट व्यवस्थासहितको ऐन तत्काल ल्याउन माग गर्दै आएको छ। युनियनले पछिल्लो केही समयदेखि चरणबद्ध आन्दोलन सञ्चालन गर्दै आएको छ। धर्नामा सहभागीहरुले ‘कर्मचारीमैत्री ऐन चाहिन्छ’, ‘राजनीतिक हस्तक्षेप अन्त्य गर’ लगायतका नारा लगाउँदै सरकारलाई दबाब दिएका छन्।
संघीय संरचना कार्यान्वयनमा आइसके पनि कर्मचारी प्रशासनलाई स्पष्ट नीति, ऐन र संरचनाको अभावमा समस्या भइरहेको युनियनको भनाइ छ। उनीहरूले कर्मचारीको मनोबल उच्च बनाउन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन ऐन अपरिहार्य भएको तर्क गरेका छन्।
संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले यदि सरकार गम्भीर नभए आगामी दिनमा आन्दोलन थप चर्काउने चेतावनीसमेत दिएको छ ।
उनीहरुले जेठ २५ देखि कालो पाट्टी बाँधेर विरोध कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।


