काठमाडौं, जेठ १८ । भोटो जात्रा अवलोकनमा गएका राष्ट्रपति रामचन्द्र पौडेलको सवारी मार्ग शनिबार अपरान्ह काठमाडौँको रिंगरोडमा फन्फनी घुमेको दृश्यले सर्वसाधारणको ध्यान खिचेको छ। राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै राष्ट्रपतिको पारम्परिक भित्री सहर हुँदै जाने रुट परिवर्तन गरी चक्रपथमार्ग हुँदै सवारी गरिए पनि त्यसक्रममा गाडीहरू बारम्बार मोडिएको देखिएको थियो।
शीतल निवासबाट निस्किएको राष्ट्रपतिको सवारी एकछिन लैनचौर, फेरि बालाजु, त्यसपछि कलंकी, बल्खु हुँदै एकान्तकुना पुगेर फेरि घुम्दै गरेको दृश्य सामाजिक सञ्जालमा पनि भाइरल हुन थालेको छ। सर्वसाधारणले “राष्ट्रपतिको सवारी किन फन्फनी गर्दैछ?” भन्ने जिज्ञासा सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्।
सुरक्षाका कारण सवारीको मार्ग तत्कालीन अवस्था हेरेर परिवर्तन गरिएको सुरक्षा स्रोतले बताएको छ। राजावादी प्रदर्शनको जोखिमका कारण भित्री काठमाडौँको बाटो छाडेर वैकल्पिक मार्ग अपनाइए पनि स्पष्ट दिशानिर्देशको अभावमा सवारी केही बेर ‘फन्फनी’ अवस्थामा परेको देखिएको हो।


