6.1 C
Kathmandu

राजकुमार बानियाँलाई आभास साहित्य सम्मान, शैलेन्द्र अधिकारी पुरस्कृत

Categories:

-

काठमाडौं, जेठ १८ । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ। यसै अवसरमा कोषले आख्यानकार शैलेन्द्र अधिकारीलाई उनको उपन्यास ‘अर्हत्’ का लागि आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले सम्मानित बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरे। बुढाथोकीले साहित्य क्षेत्रमा समर्पित व्यक्तित्व र उत्कृष्ट कृतिहरूको सम्मान गरेर कोषले सराहनीय कार्य गरेको टिप्पणी गरे।

कार्यक्रममा कवि तथा समीक्षक शकुन्तला जोशी र समीक्षक हेमप्रभासले सम्मानित र पुरस्कृत व्यक्तित्वका कृतिबारे टिप्पणी गरे। जोशीले बानियाँको समालोचनालाई निष्ठा र निष्पक्षताको प्रतीक भन्दै, उनले लेखनमा सत्यको पक्ष लिने प्रयास सधैं गर्दै आएको बताइन्। प्रभासले अधिकारीको ‘अर्हत्’ उपन्यासलाई आद्योपान्त पठनीय र प्रेरणादायी कृति भएको उल्लेख गरे।

सम्मानित बानियाँले आफूले लेखन यात्रा सुरु गरेको तीन दशकपछि यस्तो सम्मान प्राप्त गर्नु आत्मिक सन्तोष र ऊर्जा दिने अनुभव भएको बताए। उनले साहित्यिक साधना निरन्तर जारी राख्ने दृढता पनि दोहोर्याए।

कोषका अध्यक्ष बालकृष्ण श्रेष्ठले साहित्य र समाजप्रतिको उत्तरदायित्व अन्तर्गत सम्मान र पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा कोषका संरक्षक श्यामकुमार श्रेष्ठ, सञ्चारकर्मी प्रकाश थापा, दीपक सापकोटालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

यसअघि आभास उत्कृष्ट साहित्य पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ)लाई प्रदान गरिएको थियो। सम्मान तथा पुरस्कार राशी क्रमशः डेढ लाख र एक लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य