राजावादीको बालुवाटार घेराउ प्रयास, प्रहरीसँग झडप — कमल थापा पक्राउ

Categories:

-

काठमाडौं, जेठ १८ । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलनमा होमिएका राजावादी र प्रहरीबीच आज काठमाडौंमा झडप भएको छ। प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न नारायणचौरबाट नाराजुलुससहित अगाडि बढेका आन्दोलनकारीलाई प्रहरीले रोकेपछि स्थिति तनावपूर्ण बनेको हो।

प्रदर्शनकारीले जबर्जस्ती अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। लाठी चार्जका कारण केही प्रदर्शनकारी घाइते भएका छन्। यद्यपि, प्रदर्शनकारीले बालुवाटारतर्फ अगाडि बढ्ने प्रयास रोकेनन्।

झडपको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। प्रहरीले उनलाई केही समयका लागि नियन्त्रणमा लिएको हो। थापासहित अन्य नेताहरूको उपस्थितिमा आन्दोलन चलिरहेको थियो।

प्रदर्शनका क्रममा स्वयंसेवकहरूले ‘शान्तिपूर्ण आन्दोलन गरौं’ भन्दै लगातार माइकिङ गरिरहेका थिए भने प्रहरीले ‘हट्नुहोस्, कानून विपरीत नगर्नुहोस्’ भनेर चेतावनी दिइरहेको थियो।

सुरुमा ‘प्रहरीले हामीलाई साथ दिनुपर्छ’ भन्दै नाराबाजी गरिरहेका प्रदर्शनकारीहरू झडपपछि ‘प्रहरी प्रशासन मुर्दावाद’ भन्दै आक्रोशित बनेका छन्। केही स्वयंसेवकहरूले आन्दोलनमा घुसपैठको आशंका गर्दै सहभागीहरूलाई मास्क खोल्नसमेत आग्रह गरिरहेका थिए।

राजावादीहरू लामो समयदेखि संवैधानिक राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै सडकमा छन्। उनीहरूले देशभर चरणबद्ध आन्दोलन गरिरहेका छन् भने आजको प्रदर्शनलाई राजसंस्थाको समर्थन बढ्दो छ भन्ने संकेतस्वरूप व्याख्या गरिएको छ।

आजको घटनाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था थप कडा बनाएको छ। बालुवाटार, लाजिम्पाट, नारायणचौर क्षेत्रमा प्रहरी परिचालन व्यापक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य