काठमाडौं, जेठ १८ । राइड सेयरिङसम्बन्धी नियमावली र कानुनी प्रावधानको विरोधमा सार्वजनिक यातायात व्यवसायी र मजदुरहरूले सात बुँदे मागसहित आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बिजुलीबजारसम्म पुगेर विरोध सभामा परिणत भएको हो।
नेपाल राष्ट्रिय सार्वजनिक यातायात महासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा भएको प्रदर्शनमा ‘सार्वजनिक यातायात बचाऊ’ भन्ने मूल नारासहित ब्यानर र प्लेकार्ड बोकेर व्यवसायी र मजदुरहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
व्यवसायीहरूको मुख्य माग भनेको गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२’ खारेज गर्नुपर्ने रहेको छ। उनीहरूका अनुसार यो नियमावली सवारी ऐन २०४९ र संघीय कानुनसँग बाझिएको छ र सार्वजनिक यातायात प्रणालीलाई कमजोर पार्ने खालको छ।
यसबाहेक, सर्वोच्च अदालतले संघ संस्था नवीकरण खुला गर्न दिएको परमादेश कार्यान्वयन गर्नुपर्ने, सवारी ऐन २०४९ संशोधन गर्दा व्यवसायी तथा मजदुर संघसंस्थासँग भएका पुराना सम्झौता र कार्यदलको सुझाव लागू गर्नुपर्ने, मालवाहक सवारी साधनको भारवहन निर्देशिका कडाइका साथ लागू गर्नुपर्ने माग उनीहरूले राखेका छन्।
साथै, सार्वजनिक यातायातलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने र छिमेकी देशका सवारीले भन्सार नाकामा पाउने ७२ घण्टे सुविधालाई नियन्त्रण गर्नुपर्ने जस्ता मागसमेत उनीहरूले अघि सारेका छन्।
कार्यक्रममा विभिन्न महासंघ, संघसंस्था तथा मजदुर संगठनका अध्यक्षहरूको उपस्थिति थियो। हिजो काठमाडौं उपत्यकामा चक्काजाम गरेका व्यवसायीहरूले भोलि जेठ १९ गतेदेखि देशभरको यातायात सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
आजको प्रदर्शनका कारण उपत्यकासहित देशका प्रमुख शहरमा आवागमन प्रभावित भएको छ। सडकमा गाडी रोकिनुका कारण सर्वसाधारण र यात्रुले ठूलो सास्ती भोग्नुपर्यो।