नगरप्रहरी प्रमुखमाथि कारबाहीको तयारी गुरागाईले दिए सात दिनको अल्टिमेटम !

Categories:

-

काठमाडौं, ७  जेष्ठ । काठमाडौं महानगरपालिकामा फेरि एकपटक प्रशासनिक रस्साकस्सी सतहमा आएको छ। मेयर बालेन शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछि मंगलबार नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ।

चैत २१ गते भएको उक्त घटनामा गुरागाईंले कार्यालय आउँदा नगरप्रहरी बलको अनधिकृत परिचालन गर्दै पाण्डेले गैरकानुनी व्यवहार देखाएको आरोप लागेको छ। सोही दिन उपमेयर सुनिता डंगोलले समेत पाण्डेसँग यसबारे प्रश्न गर्दा उनले “मेयरको मौखिक आदेश आएको हो” भनेर जवाफ दिएका थिए।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई पठाएको पत्रमा सात दिनभित्र स्पष्ट जवाफ दिनू पर्ने उल्लेख छ। जवाफ सन्तोषजनक नभए वा नआए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

यसबीच, महानगरपालिकाका कर्मचारी तथा पेशागत संगठनहरूले ११ बुँदे ज्ञापनपत्र बुझाउँदै पाण्डेलाई तत्काल निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्। जनप्रतिनिधिहरू र कर्मचारीहरू पाण्डेको व्यवहारप्रति आक्रोशित छन्।

गुरागाईंले भने, “स्पष्टीकरण मागिएको विषय चैत २१ गतेको घटनासँग मात्र सम्बन्धित छ। सात दिनपछि कानुनले जे भन्छ, त्यही हुन्छ।” महानगर प्रहरी ऐन, २०८० अनुसार महानगर प्रहरीको नियन्त्रण, रेखदेख, निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने स्पष्ट व्यवस्था गरिएको छ।

हाल पाण्डे भने मौन छन्। उनले, “स्पष्टीकरण दिएपछि मात्र बोल्छु,” भनेर प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

काठमाडौं महानगरमा पछिल्लो छ महिनायता मेयर, उपमेयर, प्रशासकीय प्रमुख, वडाध्यक्ष र कर्मचारीबीचको तनाव झन् चर्किदै गएको छ। यो प्रकरणले महानगरको आन्तरिक संकट झनै सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य