पेस्तोल पड्काएर डान्स गरेकी नेतृ बबी सिंह यादव प्रहरीमा बयान दिएर छुटिन्

Categories:

-

जनकपुरधाम, १८ वैशाख ।सामाजिक सञ्जालमा पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल बनेपछि विवादमा तानिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई सप्तरी प्रहरीले बयान लिएर छाडेको छ।

सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडियो सार्वजनिक भएपछि उनलाई सप्तरी प्रहरीले बयानका लागि बोलाएको थियो। बयानपछि बोलाएको बेला उपस्थित हुने सर्तमा कागज गराएर छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीसमक्ष नेतृ सिंहले आफूले मनोरञ्जनको लागि पेस्तोल पड्काएको र उक्त पेस्तोल खेलौना भएको दाबी गरेकी छन्। भिडियोमा देखिएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमारको घरबाट बरामद भएको हो।

बबीको बयानका आधारमा सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी दिएपछि घटनास्थलबाट उक्त पेस्तोल बरामद गरिएको थियो। सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार बरामद पेस्तोल नक्कली जस्तो देखिएकोले परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।

घटना वैशाख ११ गते भएको हो। बबी सिंहले सर्लाहीका वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा उक्त पेस्तोल पड्काएकी थिइन्। सार्वजनिक भिडिओमा उनी म्युजिक बजेको बीचमा हातमा पेस्तोल लिएर नाच्दै गोली पड्काउँदै गरेको देखिन्छ।

डा. बबी सिंह यादव सप्तरीको बोदेबर्साइन नगरपालिका–५ की बासिन्दा हुन्। उनी राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन्। जसपा नेपालकी सक्रिय नेतृसमेत रहेकी बबी सिंह यसअघि सामाजिक अभियान र राजनीतिक गतिविधिमा समेत देखिँदै आएकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य