काठमाडौं, १८ वैशाख । साहित्यकार बी.डी. त्यागीको २२औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा पाँच जना स्रष्टालाई विभिन्न विधामा योगदान पुर्याएकोमा सम्मान प्रदान गरिएको छ। काठमाडौंको रामहिटीस्थित साहित्य सदनमा बिहीबार सम्पन्न कार्यक्रममा बी.डी. त्यागी स्मृति केन्द्रले ‘बी.डी. त्यागी स्मृति सम्मान २०७९’ वितरण गरेको हो।
कार्यक्रममा प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षीत’लाई ‘बी.डी. त्यागी स्मृति सम्मान’ प्रदान गरिएको छ। यस्तै, किरण आचार्यलाई १०१ रुपैयाँको सिक्का थैलीसहित ‘बी.डी. त्यागी स्मृति पुरस्कार’ दिइएको छ। निर्मल कुमार आचार्य ‘बी.डी. त्यागी योगदान सम्मान’ बाट सम्मानित भए भने रूपा रिसालले ‘बी.डी. त्यागी स्मृति प्रतिभा सम्मान’ प्राप्त गरिन्। डा. राजेशराज भट्टराईलाई भने ‘नेपथ्य सम्मान’ प्रदान गरिएको हो।
सम्मान प्रदान गर्ने क्रममा गङ्गा पौडेलले टीका, वेदमणि घिमिरेले खादा, सभापति शङ्कर भारतीले सास, र प्रमुख अतिथि प्रा. डा. हेमनाथ पौडेलले प्रमाणपत्र अर्पण गर्नुभएको थियो। कार्यक्रममा बी.डी. त्यागी स्मृति केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुका साथै स्मृति केन्द्रको उद्देश्यबारे जानकारी गराएका थिए ।
सभापति शङ्कर भारती, प्रमुख अतिथि प्रा. डा. हेमनाथ पौडेल, र सम्मानित स्रष्टाहरूले साहित्यकार बी.डी. त्यागीको योगदानबारे मन्तव्य राख्दै उहाँको सिर्जनात्मक क्षमता, साहित्यप्रेम र सामाजिक चेतनाको स्मरण गरे।
कार्यक्रममा कवि त्रिलोचन आचार्य र दुर्गा अधिकारी ‘भमरकोटे’ले कविता वाचन गरेका थिए भने सुसेली आर्फतले सम्मानित व्यक्तिहरूको परिचय प्रस्तुत गरेकी थिइन्।


