काठमाडौँ,८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पछिल्ला दिनमा जिल्ला दौडाहामा सक्रिय छन्। पछिल्लो पटक बारा-३ मा आयोजित सम्मेलनमा पुग्दा थापालाई भव्य स्वागत गरिएको दृश्यले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। कार्यक्रमका आयोजकले उनलाई स्वागत गर्न एक हजारभन्दा बढी मोटरसाइकलसहितका कार्यकर्तालाई सिमरा विमानस्थल पठाएका थिए। विमानस्थलबाट ५०० मिटर थापा पैदल हिँडेर आफ्नो गाडी चढेका थिए, जसलाई स्थानीय नेताहरूका २० भन्दा बढी गाडीले स्कर्टिङ गरे।
सोही दृश्यको भिडियो थापाले आफ्नै ‘मिसन पीएम’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरे। यसअघि भोजपुर, सल्यान, रोल्पा, प्युठान, रुपन्देही, पाल्पालगायत जिल्लामा पनि उनले यस्तै स्वागत पाएका थिए। ती भिडियोमा उनलाई हिन्दी फिल्म ‘दबंग’ शैलीमा प्रस्तुत गरिएको छ। “मे जहाँ खडा होता हुँ, वहीसे लाइन सुरु होता हे” भन्ने संवादसहितको भिडियोलाई लिएर चर्चा झनै बढेको हो।
कांग्रेस भित्र थापाको बढ्दो प्रभाव र सम्भावित सभापति दावीलाई यी दृश्यले सशक्त बनाउने थापाका समर्थकको विश्वास छ। “महामन्त्रीप्रति युवाहरूमा क्रेज देखिन्छ,” गगन निकट एक नेतृले भनिन् । “यस किसिमको प्रचारले प्रतिस्पर्धी नेताहरूलाई मनोवैज्ञानिक दबाब दिन सक्छ।”
तर राजनीतिक विश्लेषकहरू र समाजशास्त्रहरू भने यस्ता तामझाम प्रति सचेत रहन सुझाव दिन्छन्। समाजशास्त्री दीपेश थापा भन्छन्, “भीडको स्वागत राजनीतिक ऊर्जा हो तर यसको समन्वय र व्यवस्थापन गर्न नसके आफैंलाई भारी पर्न सक्छ। भिडले नै नेताको मखुन्डो उतार्ने खतरा हुन्छ।”
नेतृत्वको होडमा रहेका गगनले अहिले कार्यकर्ता बीचको लोकप्रियता प्रदर्शन गरिरहेका छन्। तर यसरी गरिने अस्वाभाविक स्वागतले पार्टीभित्र विभाजन, चाकडी संस्कार र समान पहुँच अभावको झल्को दिने विश्लेषण पनि गरिएको छ।
अन्ततः, गगनको दबंग शैली पार्टीभित्र नेतृत्वको नयाँ मोडलको संकेत हो वा केवल दृश्यात्मक लोकप्रियता यो समयले बताउनेछ।


