काठमाडौं, ६ वैशाख। आज शनिबार — नेपालीहरूको औपचारिक बिदाको दिन। तर, नेपालको राजनीतिले भने आज पनि विश्रामको महसुस गर्न पाएन। मुलुकको संवैधानिक र लोकतान्त्रिक उपलब्धिको संरक्षणका विषयमा चिन्तित नेताहरू आज प्रधानमन्त्री निवास बालुवाटारमा भेला भए।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्ने निष्कर्षमा पुगेका छन्। संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्था सुदृढीकरण र सामाजिक अराजकताविरुद्ध साझा मोर्चा बनाउने सहमति उनीहरूबीच भएको हो।
बैठकपछि प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेलले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, “संविधानको उल्लङ्घन गर्ने, सामाजिक अराजकता सिर्जना गर्ने र मुलुकको शान्ति–अमनमा खलल पुर्याउनेहरूप्रति सचेत हुँदै प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ।”
छलफलमा गृहमन्त्री रमेश लेखक, सल्लाहकार खरेललगायत अन्य अधिकारीहरूको पनि सहभागिता थियो। सहभागी नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको समावेशितासहितको संविधानको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा राखे।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामबारे पनि छलफल भएको जनाइएको छ।
नेताहरूले हाल देशमा देखिएको असमञ्जस, असन्तोष र अविश्वासको वातावरण हटाउँदै राजनीतिक स्थायित्व कायम गर्न मिल्ने वातावरण बनाउनु जरुरी रहेको निष्कर्ष निकाले।


