वीरगञ्जको छपकैयामा झडपपछि जारी कर्फ्यु : एक वृद्ध गोली लागेर घाइते, ४३ जना उपचारमा

Categories:

-

काठमाडौँ,३१ चैत्र । वीरगञ्जको छपकैयामा हिन्दू र मुस्लिम समुदायबीच शनिवार भएको झडपका कारण अहिले पनि कर्फ्यु जारी छ। हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्युको उल्लंघन गर्दै केही समूहले प्रदर्शन गरेपछि प्रहरीले गोली चलाउँदा एक वृद्ध घाइते भएका छन्। अवस्था झन् जटिल बनेपछि शनिबार राति नेपाली सेना समेत परिचालित गरिएको थियो।

झडपमा प्रहरीसहित ४३ जना घाइते भएका छन्। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार केहीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने अन्यको उपचार भइरहेको छ। अवस्था शनिबार रातिसम्म निकै तनावपूर्ण भए पनि आइतबार बिहानदेखि स्थिति केही सामान्य देखिएको छ।

प्रहरीले झडप नियन्त्रण गर्न करिब ७५ सेल अश्रुग्यास प्रहार गरेको थियो। तर स्थिति नियन्त्रणमा नआएपछि करिब ८ सय प्रहरी परिचालन गरियो र अन्ततः प्रशासनले कर्फ्यु आदेश जारी गर्‍यो। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यद्वारा जारी आदेशअनुसार कर्फ्यु आज मध्यान्हसम्म कायम रहनेछ। कर्फ्युका कारण बजार, पसल तथा सवारी आवागमन पूर्णरूपमा ठप्प छ।

हिन्दू समाजका प्रतिनिधिहरूले मुस्लिम समुदायतर्फबाट शोभा यात्रामा ढुंगा प्रहार भएको आरोप लगाएका छन्। उनीहरूले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै दोषीको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

उता  वातावरणलाई शान्त बनाउन प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन्। बैठकमा विभिन्न दलका नेता, स्थानीय अगुवा तथा सुरक्षाप्रहरीका प्रतिनिधिहरूबीच छलफल भइरहेको जनाइएको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, अफवाह नफैलाउन र धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य