वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच झडपपछि कर्फ्यु जारी

Categories:

-

वीरगञ्ज,३० चैत्र ।   वीरगञ्जमा आज हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। झडप र त्यसपछि भएका आगजनीका घटनापछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

हनुमान जयन्तीको अवसरमा हिन्दू समुदायले आयोजना गरेको शोभायात्राका क्रममा दुई समुदायबीच विवाद सुरु भएको थियो। विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

झडपका क्रममा केही स्थानमा आगजनी र ढुंगा प्रहारसमेत भएको पुष्टि प्रहरीले गरेको छ। यद्यपि अहिलेसम्म मानवीय क्षतिको ठोस विवरण सार्वजनिक गरिएको छैन। स्थिति बिग्रन नदिन सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने थप बल माग गरिएको बताइएको छ।

 

कर्फ्यु पूर्वमा भेडियाही चोक, वीरगञ्ज महानगरपालिका–१, पश्चिममा सिर्सिया पुल र महानगरपालिका–२५, उत्तरमा गण्डक चोक र महानगरपालिका–१४ तथा दक्षिणमा शंकराचार्य गेट र महानगरपालिका–१६ सम्मको क्षेत्रमा लगाइएको हो।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार कर्फ्यु आदेश अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। अत्यावश्यक सेवाबाहेक बाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ।

यसअघि पनि वीरगञ्जमा विभिन्न धार्मिक कार्यक्रमका क्रममा समुदायबीच तनाव सिर्जना हुने गरेका थिए। तर, यसपटकको झडप हिंसात्मक बनिरहेको प्रशासनको भनाइ छ।

सुरक्षाको दृष्टिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको टोली परिचालित गरिएको छ। केही स्थानमा ड्रोनबाट निगरानीसमेत गरिएको छ। स्थानीय प्रशासनले शान्ति सुरक्षाको व्यवस्था मिलाइरहेको बताउँदै सबैलाई संयमता अपनाउन आग्रह गरेको छ।

धार्मिक सहिष्णुतामा आँच आउने गरी उक्साहटपूर्ण गतिविधि नगर्न र अफवाहमा विश्वास नगर्न प्रशासनले सबै पक्षलाई अनुरोध गरेको छ।

यसैबीच, केही स्थानीय नेताहरू र धार्मिक अगुवाहरूले आपसी संवाद र समन्वयबाट समस्याको समाधान गर्न पहल थालेका छन्। तनाव घटाउन शान्ति समिति मार्फत छलफल अगाडि बढाउने तयारीसमेत भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य