निष्पक्ष छानबिनको माग गर्दै पत्रकार महासंघले गुहार्यो मानव अधिकार आयोग 

Categories:

-

काठमाडौं, चैत २९।नेपाल पत्रकार महासंघले चैत १५ गते तीनकुनेमा पत्रकार सुरेश रजकको बर्बर हत्या र सञ्चारगृहमाथि भएको तोडफोड तथा आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेको छ।

महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटी प्रेस स्वतन्त्रता हननका घटनाबारे गुनासो गर्दै छानबिनको माग गरेको हो।

पत्रकार रजकको जलाएर हत्या गरिएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै महासंघले दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। प्रतिनिधिमण्डलले पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको निःशुल्क उपचार, सञ्चारगृहको सुरक्षाको प्रत्याभूति र विगतमा भएका प्रेस स्वतन्त्रता हननका घटनामा दोषीउपर कारबाहीको माग राखेको थियो।

आयोगका अध्यक्ष मगरले तीनकुने घटनाको छानबिन भइरहेको जानकारी दिँदै निष्पक्ष प्रतिवेदन तयार पारेर दोषी पहिचान गरी सरकारलाई सिफारिस गरिने प्रतिवद्धता जनाए। उनले पीडित पक्षको न्याय सुनिश्चित गर्न आयोग कटिबद्ध रहेको बताए।

महासंघका महासचिव रामप्रसाद दाहालले सरकारको उदासिनताले थप दबाब दिने अवस्था सिर्जना भएको उल्लेख गर्दै आयोगसँग समेत गुनासो गर्नुपर्ने स्थिति नआओस् भनेर सचेत गराएको बताए। उनका अनुसार देशभरका महासंघका शाखाहरूले आयोगको ध्यानाकर्षण गराएका छन्।

महासंघले आइतबारदेखि गृहमन्त्रीलाई देशभरबाट दबाब दिने अभियान सुरु गर्ने बताएको छ। प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तथा पत्रकार सुरक्षाका लागि महासंघले सबै तहमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य