रुपन्देही, २९ चैत्र । नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्यबहादुर थापा क्षेत्रीलाई धम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्। प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई आज नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आलोचक रहेका थापालाई पन्तले सामाजिक सञ्जालमार्फत मध्यरातमा ‘लाइफ अन थ्रेट क्यान्सल रुपन्देही’ भन्ने धम्कीपूर्ण म्यासेज पठाएका थिए। उक्त म्यासेजलाई गम्भीर रूपमा लिँदै थापाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए। यसपछि प्रहरी सक्रिय बनेको थियो।
थापाले सामाजिक सञ्जालमा लेख्दै आफूलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरेकोमा प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन्। उनले कानुन विपरीत धम्की दिने वा हिंसाका माध्यमबाट असहमत व्यक्तिहरूलाई डराउने प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन्।
पक्राउ परेका पन्तको राजनीतिक पृष्ठभूमि एमालेमै रहेको जनाइएको छ। यद्यपि पछिल्लो समय उनी ‘लौरो अभियान’ नामक समूहका केन्द्रीय सदस्यका रूपमा सक्रिय भएको जानकारी स्रोतले दिएको छ। लौरो अभियान हालै विभिन्न राजनीतिक विषयमा आलोचनात्मक रुपमा सक्रिय देखिएको समूह हो, जसले सामाजिक सञ्जालमा आक्रामक शैलीमा अभिव्यक्ति दिँदै आएको छ।
प्रहरीका अनुसार पन्तविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीमाथि धम्कीपूर्ण सन्देश पठाउनुका साथै सामाजिक शान्तिमा खलल पुर्याउने नियतले गरिएको साइबर अपराधको अनुसन्धान सुरु भएको छ। प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।


