काठमाडौं, २९ चैत्र । टिकटकमार्फत चर्चित बनेकी सामाजिक सञ्जाल प्रयोगकर्ता गंगु क्षेत्रीको गोप्य भिडियो सार्वजनिक गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। ब्यूरोले ललितपुर महानगरपालिका–४, शान्तिपुर मार्ग बसोबास गर्ने २४ वर्षीय आयुष अधिकारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अधिकारी र क्षेत्रीबीच विगतमा प्रेम सम्बन्ध रहेको थियो। सम्बन्ध विच्छेद भएपछि अधिकारीले गंगुले प्रेममा रहँदा पठाएको व्यक्तिगत भिडियो सार्वजनिक गरेर ब्ल्याकमेल गर्न थालेका थिए। पीडित क्षेत्रीले आफूलाई मानसिक, सामाजिक र भावनात्मक यातना दिइएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
ब्यूरोले उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार आरोपीले केवल भिडियो मात्र होइन, सम्बन्धका क्रममा प्राप्त अन्य गोप्य तस्बिरहरू पनि प्रयोग गरेर गंगुलाई पटक–पटक ब्ल्याकमेल गर्ने, धम्की दिने र सम्बन्धमा फर्कन दबाब दिने प्रयास गरेका थिए। उजुरीमा उल्लेख भएअनुसार केही तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक समेत भएका छन्।
यस प्रकरणसँगै गंगु क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको चरित्र हत्या र भिडियो लिकको विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै, गल्ती स्वीकार गरेकी छिन्। उनले आफ्ना अनुयायीहरूसँग सतर्क रहन अपिल गर्दै डिजिटल माध्यममा गोप्यता र विश्वासको महत्त्वबारे बोलेकी थिइन्।
प्रहरीले यस्ता साइबर अपराधप्रति सजग हुन सर्वसाधारणलाई आग्रह गरेको छ। व्यक्तिगत सामग्रीको अनधिकृत प्रयोग आपराधिक कार्य हो र दोषी उपर कडा कानुनी कारबाही हुने ब्यूरोको चेतावनी छ।


