भद्रपुर, २९ चैत । चैत १५ गतेको राजावादी आन्दोलनपछिको हिंसा र भागाभागपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरिएको छ। उनलाई आज (चैत २९ गते) दिउँसो १२ बजेभित्र बुद्ध एयरको उडान नम्बर BHA 954 मार्फत काठमाण्डौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रसाईं हाल झापाको जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको जिम्मा लगाइने र त्यसपछि राज्यविरुद्धको गम्भीर अभियोग अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जनाइएको छ।
चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौँमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको थियो। सो दिन सार्वजनिक सम्पत्तिमा करिब ४६ करोड रुपैयाँ बराबरको क्षति पुगेको र दुई जनाको मृत्यु समेत भएको घटनालाई लिएर उनीमाथि मुख्य अभियुक्तका रूपमा मुद्दा चलाउने तयारी भइरहेको छ।
प्रहरी स्रोतका अनुसार, “यस घटनामा प्रसाईंको भूमिकालाई लिएर प्रमाण संकलन भइसकेको छ। उनीमाथि राजद्रोह, सार्वजनिक शान्ति भंग, र मानवहत्या जस्तो संगीन मुद्दा अनुसन्धानको दायरामा पर्नेछ।”
दुर्गा प्रसाईं लामो समयदेखि पूर्वराजाको समर्थनमा सक्रिय हुँदै आएका थिए। पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्जाल मार्फत राज्यविरोधी अभिव्यक्तिहरू दिँदै आएका उनीविरुद्ध यसअघि पनि केही उजुरीहरू परेका थिए।
सरकारले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कडा कानुनी कारबाही गरिने संकेत दिएको छ। अबको कारबाहीले राज्य विरुद्धको गतिविधिमा संलग्न हुनेहरूका लागि कस्तो सन्देश दिन्छ भन्ने चासो बढेकाे छ।


