काठमाडौं, चैत्र २८ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईं भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ। तर नेपाल प्रहरीले भने उनलाई भारतबाट पक्राउ गरी पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको बताएको छ।
दुर्गा प्रसाईं नामक फेसबुक पेजबाट सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, “२ घन्टा अघि दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ।” सचिवालयका अनुसार उनीहरू सुरक्षा ग्यारेन्टीको माग गर्दै आएका थिए र त्यसै अनुरूप उनले उपस्थित भएको दाबी गरिएको छ।
तर, प्रहरी उच्च स्रोतले भने उनी फरार अवस्थामा नै पक्राउ परेको स्पष्ट गरेको छ। चैत १५ को प्रदर्शनपछि बीएबी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापाको विएण्डसी मेडिकल कलेजमा पुगेका थिए। त्यहाँबाट पुनः भागेर भारततर्फ गएका थिए। प्रहरीले खोजी जारी राख्दासमेत उनी सामाजिक सञ्जालबाट आफू काठमाडौंमै रहेको भन्दै भिडिओमार्फत सन्देश दिन्थे।
प्रहरीले पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकी नजिकै प्रसाईंको गतिविधि पत्ता लगाएको थियो। अन्ततः बिहीबार अपराह्न भारतको आसाममा उनलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ। यद्यपि, समर्पण भन्ने सचिवालयको दाबी र प्रहरीको पक्राउ भन्ने भनाइबीच फरक रहेको छ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायत अभियोगमा अनुसन्धान गरिने प्रहरी तयारी छ। तीनकुने प्रदर्शनका क्रममा उनले प्रहरीलाई गाडीले किच्न खोजेको घटना रहेकोले ज्यान मार्ने उद्योगअन्तर्गत पनि मुद्दा चल्न सक्ने जनाइएको छ।


