काठमाडौं, २८ चैत ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको लह लहैमा अराजक शैलीमा क्रियाशील भएका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथि कारबाहीको तयारी भएको छ। पाण्डेले प्रचलित कानुनविपरित फुली र दर्जा लिएको, तथा मेयरको आदेशमा कार्यकारी अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध पुर्याएको आरोप लागेका छन्।
महिनौंसम्म कार्यकारी अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो। गत साता पनि प्रवेश रोक्न मेयर साहले निर्देशन दिएपछि पाण्डे नेतृत्वको टोलीले अवरोध सिर्जना गरेको थियो। तर वडाध्यक्ष र कर्मचारीहरूको पहलमा गुरागाईं कार्यालय प्रवेश गर्न सफल भएपछि उनीहरूका पाँच महिनादेखिका तलब, भत्ता र सुविधा निकासा भइसकेका छन्।
कानुन अनुसार महानगर प्रहरी कार्यकारी अधिकृतको मातहतमा रहनुपर्ने भए पनि पाण्डेले मेयरको प्रत्यक्ष निर्देशनमा काम गर्दै आएको पाइन्छ। गुरागाईंको पुनःपदस्थापनपछि पाण्डेले उनीमाथि स्यालुट गर्दै विगतको कमजोरीप्रति पश्चाताप व्यक्त गरेको बताइएको छ।
राजु पाण्डेलाई मेयर बालेनले अवैध रूपमा तीन वर्षदेखि एसएसपीको दर्जा दिएका थिए। यस्तो दर्जा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मात्र दिन सकिन्छ। पाण्डे र उनका मातहतले प्रयोग गर्दै आएको पोशाक, दर्जा र फुली अब हटाइने तयारी भएको स्रोतले जनाएको छ।
गृह मन्त्रालयको सिफारिसबिना सुरक्षा निकायको दर्जा वा पोशाक प्रयोग गर्न पाइँदैन। महानगर प्रहरीको मुख्य काम फोहोरमैला व्यवस्थापनमा सहजीकरण, फुटपाथ व्यवस्थापन र सार्वजनिक स्थानमा नागरिक सहायता दिनु हो। तर पछिल्लो समय उनीहरू प्रहरी वा अनुसन्धान निकायझैँ छापा हान्ने र नियन्त्रणमा लिने जस्ता गतिविधिमा देखिएको भन्दै आलोचना हुँदै आएको छ।
प्राप्त जानकारीअनुसार अब पाण्डेमाथि प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइनेछ।


