काठमाडौँ,२८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको छ।
खुला विश्वविद्यालयमा एलएलबी अध्ययनरत प्राञ्ज्वल केसीले सङ्ग्रौलाको सामाजिक सञ्जालमा न्यायालय र न्यायाधीशप्रति अपमानजनक अभिव्यक्ति आएको भन्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको भोलिपल्ट सङ्ग्रौलाले फेसबुकमा न्यायाधीशहरूलाई लक्षित गर्दै “न्यायाधीश झोले कार्यकर्ता हुन्” भन्ने अभिव्यक्ति दिएकी थिइन्।
प्राञ्ज्वल केसीले उक्त अभिव्यक्तिलाई अदालतको गरिमा र स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण भएको दाबी गर्दै रिटमार्फत न्यायालयको प्रतिष्ठा जोगाउने माग गरेका छन्। उनले कानुनको विद्यार्थीको हैसियतले अदालतको सम्मान र नियमको पालना सबै नागरिकले गर्नुपर्ने भन्दै यस्तो अभिव्यक्ति सैह्य नहुने तर्क गरेका छन्।
“न्यायाधीशको निर्णयसँग असन्तुष्टि हुन सक्छ तर त्यसको विरोध गर्ने वैधानिक प्रक्रिया छ,” रिटमा उल्लेख गरिएको छ, “तर सार्वजनिक रूपमा अदालतप्रति गरेको यस्तो टिप्पणीले न्यायपालिकाप्रतिको जनविश्वास खस्किने खतरा हुन्छ।”
अहिलेको अवस्थामा राजनीतिक नेताहरूको सामाजिक सञ्जाल प्रयोग र सार्वजनिक अभिव्यक्तिले संवैधानिक संस्था र प्रक्रियामा प्रश्न उठाउने क्रम बढ्दै गएको केसीको तर्क छ। उनले ज्वाला सङ्ग्रौलाको भनाइले न केवल न्यायपालिका, तर लोकतान्त्रिक मूल्य र कानुनी चेतनाप्रति पनि चुनौती दिएको उल्लेख गरेका छन्।
सर्वोच्च अदालतले यो मुद्दा दर्ता गरेपछि अब प्रारम्भिक सुनुवाइ हुनेछ। अदालतले ज्वाला सङ्ग्रौलालाई स्पष्टीकरण माग्ने वा प्रतिउत्तरका लागि समन पठाउने प्रक्रियाबाट मुद्दाको अगाडि बढ्नेछ।
यस प्रकरणले अभिव्यक्ति स्वतन्त्रता र न्यायिक मर्यादाबीचको सन्तुलनमा फेरि बहस चर्काएको छ।


