वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

Categories:

-

काठमाडौं, चैत २७ – राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनरत जनआन्दोलन समितिले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सरकारले माग पुरा नगरे वैशाख २२ मा स्वेच्छिक रूपमा पक्राउ पर्न सडकमा उत्रिने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘प्रतिबद्धता कार्यक्रम’ मा बोल्दै ७८ वर्षीय गुरुङले भने, “यदि सरकारले चैत १५ गतेपछि जारी गरिएको गिरफ्तारी वारेन खारेज गरेन, संयोजक नवराज सुवेदीको नजरबन्द हटाएन र बन्दी बनाइएका हाम्रो आन्दोलनका साथीहरूलाई रिहा गरेन भने, हामी २२ गते सामूहिक गिरफ्तारी दिन तयार छौं।”

गुरुङले आफू नै पहिलो व्यक्ति भएर माटोको टिका लगाएर गिरफ्तारी दिन जाने बताउँदै भने, “म ७८ वर्षको सुगर रोगी हुँ, तर पनि म हिँड्छु। तपाईंहरू को आउनुहुन्छ, आउनुहोस्। हामी सबै सँगै जेल जान तयार छौं।”

जनआन्दोलन समितिले राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्रको पुनःघोषणा, र संघीयता खारेजको माग गर्दै विभिन्न चरणमा देशभर आन्दोलन चर्काउँदै आएको छ। सरकारविरुद्ध व्यापक असन्तुष्टि जनाउँदै समितिले पछिल्लो समय राजधानीमा जनसङ्ख्या बढाउने गरी ‘शान्तिपूर्ण भद्र अवज्ञा’ अभियान घोषणा गरेको हो।

गुरुङले आन्दोलन पूर्ण रूपले भद्र र शान्तिपूर्ण हुने दोहोर्‍याउँदै भने, “हामी ज्यानको माया नगरी अघि बढ्नेछौं। हाम्रो आन्दोलन भद्र अवज्ञा हुनेछ, तर दबाब दिनेछ।”

समितिका नेताहरूको अनुसार, चैत १५ को आन्दोलनपश्चात विभिन्न जिल्लामा आन्दोलनकारीहरूमाथि दमन गरिएको छ र केही नेतालाई हिरासतमा लिइएको छ। समितिले सरकारसँग वार्ताको ढोका खुला राखे पनि माग सम्बोधन नभए जनदबाबबाटै परिवर्तन ल्याउने बताएको छ।

यसैबीच, समितिका विभिन्न घटकहरूले देशका प्रमुख शहरहरूमा जनजागरण अभियान समेत सञ्चालन गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य