मोरङ जिरिखिम्तीका बासिन्दाको गुनासो : हाम्रो जग्गामा सडक, तर मुआब्जा कतै छैन

Categories:

-

मोरङ, चैत २७ – मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत जिरिखिम्तीका स्थानीय बासिन्दा दशकौँदेखि आफ्नै कित्ताको जग्गामा सडक बनेको मुआब्जा माग्दै संघर्षरत छन्। तर अहिलेसम्म उनीहरूले उचित क्षतिपूर्ति पाएका छैनन्।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वयरवन–९ (थ) को कित्ता नं. ६४ मा बनाइएको उक्त सडक हाल काकडभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी सुनसरीबाट विस्तार गर्ने तयारीमा छ। १९७० सालमा कित्ताकाट भएको जग्गामा ५३ वर्षपछि मात्र सडक नापजाँच गरिएको थियो। अहिले विस्तारका नाममा १ सय फुट चौडाइको भनिएको सडकले १ सय ६५ फुटसम्म क्षेत्र ओगटेको छ, जसका कारण ४१ घरपरिवार विस्थापित हुने स्थितिमा पुगेका छन्।

स्थानीय समन्वय समितिका संयोजक मदन पोखरेलले दशकौंदेखि न त आफ्नो जग्गामा बनेको सडकको मुआब्जा पाए न त नयाँ बसोबासको ठेगाना पाएका भन्दै दुखेसो पोखे। “हाम्रो नम्बरी जग्गामा सडक बनेको छ, हामी बसेको ठाउँचाहिँ सडकको नाममा छ,” पोखरेलले भने, “बैंकमा राखेर काम गर्न पनि नमिल्ने, सरकारसँग मुआब्जा माग्दा पनि सुनुवाइ नभएको अवस्था छ।”

पीडितहरूले सडक सराएर अर्कै ठाउँबाट लैजानुपर्ने वा हालको बसोबास गरिरहेको जग्गा उनीहरूको नाममा साटासाट गरिनुपर्ने माग गर्दै आएका छन्।

यसैबीच आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि दक्षिणतिर सडक विस्तार गर्ने विकल्प उपयुक्त देखिएको बताउँदै भने, “दक्षिणतिर जग्गा उपलब्ध भएकाले सो मार्ग सहज हुनसक्छ।” उनले १० मिटर चौडाइको सडकलाई २४ मिटर बनाउने योजना अघि बढिरहेको र पुरानो समस्या समाधान गर्न पनि छलफल भइरहेको जनाए।

नगर प्रवक्ता नविन कार्की, वडाध्यक्ष जीवन खतिवडा तथा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समेत विभिन्न चरणमा छलफल भइसकेको र समाधानका लागि सबैजना गम्भीर रहेको बताए।

स्थानीयको माग जायज भए पनि अहिलेसम्म कार्यान्वयन नहुनु सरकारी बेवास्ता र कमजोर नीति कार्यान्वयनतर्फ संकेत गर्छ। अबको अपेक्षा– यथाशीघ्र निष्पक्ष निर्णय र पीडित परिवारलाई न्याय हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य