मुक्तिनाथ (मुस्ताङ), चैत २७ ।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङमा अवस्थित ऐतिहासिक नुन खानी संरक्षण र सदुपयोगको अभावमा संकटमा परेको छ। स्थानीयवासी कुनसाङ गुरुङलगायतका बासिन्दा हिउँदमा डेढ घण्टा पैदल हिँडेर नर्साङखोलाको किनारबाट नुन संकलन गर्छन् भने चैतदेखि जेठसम्म पोखरीमा जम्मा भएर सुक्ने नुन घरायसी प्रयोजनका लागि प्रयोग गर्छन्।
स्थानीयले तीन दशकदेखि सरकारी निकायलाई खानीको सदुपयोगको माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। कुनसाङ गुरुङ भन्छिन्, “हामीले यो नुन घरमा प्रयोग गर्छौं र पशुलाई पनि खुवाउँछौं, तर संरक्षणको अभावले पोखरीहरू पुरिने अवस्थामा छन्।”
तेताङ र छुसाङका बासिन्दाले सुक्खायाममा पोखरी बनाएर नुन सङ्कलन गरे पनि दीर्घकालीन योजनाको अभावमा खानी संरक्षण चुनौती बनेको छ। गाउँपालिका प्रवक्ता प्रमेश गुरुङका अनुसार, गाउँपालिकाले गण्डकी प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन्।
रासायनिक परीक्षण अनुसार नुनमा ७१% देखि ९४% सम्म सोडियम क्लोराइड पाइएपछि यसलाई गुणस्तरीय नुन मान्न सकिने देखिएको थियो। दुई किलोमिटर क्षेत्रफलमा फैलिएको यो नुन भण्डारमा पाँच वटा नुनिलो मुहानहरू छन्।
२०७७ सालमा खानी तथा भूगर्भ विभागले प्रस्ताव आह्वान गरे पनि भौगोलिक विकटता, जनशक्ति अभाव र लगानी जोखिमका कारण कुनैपनि प्रस्ताव पेस नभएको वडा सदस्य धर्पो गुरुङ बताउँछन्।
एक समय यो खानीबाट मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतसम्म नुन बेचेर जीविकोपार्जन हुने गरेको स्मरण ८२ वर्षीय मिन्दो गुरुङ गर्छन्। अहिले भने संरक्षणको अभावमा स्रोत ओझेलमा परेको छ। पर्यटकीय सम्भावना बोकेको ‘हिमालयन साल्ट’ ब्रान्डको प्रचार भए पनि उत्खनन र संरक्षणको पक्षमा सरकारी चासो न्यून देखिएको छ।


