पत्रकार सुरक्षाको माग गर्दै महासंघ दबाबमूलक कार्यक्रमतर्फ, दीप प्रज्वलनदेखि देशव्यापी आन्दोलनसम्मको तयारी

Categories:

-

काठमाडौं, २७ चैत्र । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चारकर्मीमाथि भएको आक्रमणबारे सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल पत्रकार महासंघले चरणबद्ध दबाबमूलक कार्यक्रम घोषणा गरेको छ।

महासंघको उपलब्ध केन्द्रीय समितिको आज बसेको बैठकले सरकारलाई दिएको सात दिने अल्टिमेटम सकिएको भन्दै थप आन्दोलनको तयारी अघि बढाएको हो। बैठक महासंघका उपाध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा बसेको थियो।

बैठकले पहिलो चरणमा चैत २७ गते बुधबार साँझ ६ बजे माइतीघर मण्डलामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा उपत्यकाका समितिसहित देशभरका शाखा र प्रतिष्ठानहरूलाई सहभागी गराउने महासंघले जनाएको छ।

दोस्रो चरणमा चैत २९ गते शुक्रबार रजकको हत्यामा स्वतन्त्र छानबिनको मागसहित राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। सोहि प्रकृतिको कार्यक्रम प्रदेश र जिल्ला शाखाले पनि गर्नेछन्।

त्यसपछि चैत ३१ गते पत्रकार महासंघले चैत १८ गते सरकारलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका माग तत्काल पुरा गर्न आह्वान गर्दै देशभरका पत्रकारहरूलाई गृहमन्त्रीलाई सन्देश पठाउने अभियान सञ्चालन गर्न भनिएको छ।

महासंघले बैशाख २ गते सम्पादकहरूसँग, बैशाख ४ गते सञ्चारगृहका सञ्चालकहरू आबद्ध संस्थासँग, र बैशाख ६ गते पूर्व अध्यक्ष तथा अग्रज पत्रकारहरूसँग छलफल गर्ने निर्णय पनि गरेको छ।

निर्धारित समयभित्र सरकारले माग सम्बोधन नगरे देशव्यापी आन्दोलन घोषणा गरिने महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले सरकारसँग स्वतन्त्र छानबिन, दोषीमाथि कानुनी कारबाही, रजकका परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार र प्रेस स्वतन्त्रताको सम्मान सुनिश्चित गर्न पुनः माग दोहोर्याएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य