काठमाडौं, चैत २७ – वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय सूचक एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार काठमाडौँ उपत्यका आज बिहान पुनः विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिमा पहिलो स्थानमा परेको छ।
बुधबार बिहान सवा ६ बजे गरिएको मापनअनुसार काठमाडौँको एक्यूआई १८४ पुगेको छ। यो अवस्था अस्वस्थकर श्रेणीमा पर्दछ। दिल्लीको AQI १८० र युगान्डाको कम्पला १५७ रहेकोले काठमाडौँ प्रदूषणको दृष्टिले पुनः अग्रपंक्तिमा रहेको देखिएको छ।
स्वास्थ्य विज्ञ र वातावरणविद्हरूका अनुसार उपत्यकामा लामो समयदेखि वर्षा नहुनु, सडक निर्माणको धुलो, सवारी साधनको धुवाँ र वरपरका जंगलमा लागेको डढेलो वायु प्रदूषणका प्रमुख कारण हुन्।
केही दिनअघि काठमाडौँको AQI ३५२ पुगेको थियो, जुन अत्यन्त खतरनाक तह हो। वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार AQI ३०० नाघेमा त्यो अवस्थालाई विपद् को रूपमा लिइन्छ।
स्वास्थ्य मन्त्रालयले अत्यधिक प्रदूषणका कारण आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुका बिरामीहरूलाई सावधानी अपनाउन भनिएको छ।
चिकित्सकहरूले बिहान र साँझको समयमा घर बाहिर ननिस्कन, आवश्यक परेमा गुणस्तरीय मास्क लगाएर मात्र बाहिर जान र घरभित्र सफा हावाको सुनिश्चितता गर्न सल्लाह दिएका छन्।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, मानव स्वास्थ्यको लागि ०–५० AQI सुरक्षित मानिन्छ। ५१–१०० सावधानीपूर्वक र त्यस माथिको स्तर अस्वस्थकर र खतरनाक श्रेणीमा पर्दछ।
सरकार र स्थानीय तहले वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्न आवश्यक देखिन्छ। अन्यथा, काठमाडौँ उपत्यकावासीको जीवनस्तर र स्वास्थ्य अझै गम्भीर संकटमा पर्न सक्छ।


