घडेरी देखाएर करोडौँ ठग्ने दक्षिणढोकाबाट पक्राउ परेपछि खुले यस्तो रहस्य…

Categories:

-

काठमाडौं, २५ चैत । राजधानी काठमाडौंमा नक्कली घडेरी देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा बसोबास गर्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चौलागाईंले सस्तो मूल्यमा घडेरी रहेको र तत्कालै घर बनाउन मिल्ने भन्दै एउटा नभएको जग्गा आफ्नो नाममा रहेको बताउँदै एक व्यक्तिसँग बैनाबापत साढे ४५ लाख रुपैयाँ लिएका थिए। विश्वासमा परेका ती व्यक्तिले बैना रकम बुझाए पनि पछि मालपोतको अभिलेखमा उक्त जग्गा चौलागाईंको नाममा नदेखिएपछि ठगी भएको थाहा पाए।

पीडितले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। जिल्ला अदालत काठमाडौंले चौलागाईंविरुद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसअनुसार सोमबार बिहान उनलाई दक्षिणढोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार चौलागाईंविरुद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा ठगी र बैंकिङ कसुर सम्बन्धी गरी आठवटा मुद्दा दर्ता छन्। ती सबै मुद्दामा जम्मा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

चौलागाईंलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनको संलग्नतामा थप व्यक्तिहरू पनि संलग्न हुन सक्ने शंका गर्दै अनुसन्धानलाई फराकिलो बनाएको छ।

राजधानीमा पछिल्लो समय यस्ता नक्कली घडेरी देखाएर ठगी गर्ने गतिविधि बढिरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य